नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । आज बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिब गोकर्ण बिस्तले जानकारी दिनु भयो ।
महाधिवेशनका लागि रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।
यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । त्यसैगरी बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय भएको छ भने कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने निर्णय गरिएको सचिव प्रदीप ज्ञवालीले बताउनुभयो । एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको थियो।
बैठकले १५–१७ असोजमा भएको विधान महाधिवेशनको समीक्षा पनि गरेको छ । विधान महाधिवेशनले भावनात्मक एकता सिर्जना गरेको र सफल भएको निश्कर्ष निकालेको ज्ञवालीले बताउनुभयो ।
असोज ३१ गते देखि परिरहेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पुगेको क्षतिप्रति दुख व्यक्त गर्ने निर्णय बैठकले गरेको छ । बाढी, पहिरो र डुवानमा परेकाहरुलाई उद्धार,राहत र पुनर्स्थापनामा परिचालित हुन कार्यकर्ता पंक्तिलाई बैठकले निर्देशन दिएको छ ।
बैठकले रेडक्रस सोसाइटी र एनआरएनएको गतिविधिमाथि सत्तारुढ पक्षबाट भएको हस्तक्षेपको विरोध जनाएको छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । भोलिको बैठकमा दश बुँदे कार्यान्वयनमा देखिएको समस्याबारे समेत छलफल गर्ने कार्यसूची छ ।