एमाले महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने

११ कार्तिक २०७८, बिहीबार २१:२८ प्रकाशित

नेकपा एमालेको १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी गराइने भएको छ । बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो । स्थायी कमिटीको निर्णयलाई भोलि बस्ने केन्द्रीय कमिटीमा लैजाने र थपघट हुनसक्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनु भयो ।

‘चितवनमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन हुने व्यवस्थामा रहेर छलफल अगाडि बढायौं । अहिले एमालेसँग ७ लाख २१ हजार पार्टी सदस्य छन् । १५ सय ३६ जना प्रतिनिधिहरु १० औं महाधिवेशनका निम्ति चयन गरिने उहाले बताउनु भयो ।

प्रवक्ता ज्ञवालीका अनुसार प्रतिनिधि तीन खालका हुनेछन् । केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि हुनेछन् ।

पदेन प्रतिनिधि बाहेक विभिन्न भुगोलबाट प्रतिनिधित्व गर्ने विभिन्न अनुपात बाट करिब ११९६ जना प्रतिनिधि चयन गरिनेछ । त्यसका लागि हरेक निर्वाचन क्षेत्रबाट १५ सय सदस्य बराबर कम्तिमा एक जना महिला र दुईजना खुला गरेर तीन जना अर्थात हरेक निर्वाचन क्षेत्रबाट तीन जना हुने उनले बताए ।

त्यसबाहेक एक हजार सदस्य बढ्दै जाँदा एक जना थपिनेगरी यसहिसाबले भुगोलबाट चयन हुने ११९६ जना, पदेन २६२ जना र यसको ५ प्रतिशतले हुने मनोनयन गरेर १५३६ जना प्रतिनिधि चयन हुने व्यवस्था प्रस्ताव गरेको ज्ञवालीले जानकारी दिनुभयो। ‘यसमा ५१ प्रतिशत प्रतिनिधि समावेशी हुनेछ । ३३ प्रतिशत महिलाका अतिरिक्त आदिवासी, जनजाति थारु मधेसी मुस्लिम दलित पिछडिएको क्षेत्रसहित कलस्टर छुट्याएका छौं । ४९ प्रतिशत खुला गरेर प्रतिनिधि चयन हुने उहाको भनाइ छ ।

त्यसबाहेक हरेक जिल्लाबाट एक एक जना दलित प्रतिनिधि चयन हुनेछन् । अर्को हरेक प्रदेशबाट मजदुर पार्टी सदस्यबाट मजदुर प्रतिनिधि चयन हुनेछ । त्यसैगरी हरेक जनसंगठनबाट ५/५ जना प्रतिनिधित्व हुनेछ । केन्द्रीय विभाग र केन्द्रीय कार्यालयलाई एउटा निर्वाचन क्षेत्र मानेर त्यहाँबाट दुई जना महिला र एकजना खुला गरेर तीन जना त्यहाँबाट निर्वाचित हुनेछन् । प्रवासका समर्थक शुभचिन्तकबाट २० जना प्रतिनिधित्व गराइने प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

बैठकमा महाधिवेशन मूल आयोजक कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले चितवनमा हुने महाधिवेशनको तयारीका सन्दर्भमा प्रारम्भिक कामहरुबारे जानकारी गराउनु भएको थियो । नारायणि नदी किनारमा खुला सभा गर्ने र सौराहको पर्यटकीय स्थलमा बन्दसत्र गर्ने जानकारी दिनु भयो ।

११ कार्तिक २०७८, बिहीबार २१:२८  मा प्रकाशित

Write your Comment