प्रहरीसँगको घम्साघम्सीमा ६ जना कानुन ब्यावसायि घाइते,सर्वोच्चमा सशस्त्र पनि खटाइयो

२५ कार्तिक २०७८, बिहीबार १३:५४ प्रकाशित

सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका पदाधिकारीसहितका कानुन व्यवसायी र प्रहरीहरूबीच घम्साघम्सीमा ६ जना घाइते भएका छन्।

नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराई भट्टराईका अनुसार प्रहरीसँगको झडपमा बारका महासचिव लीलामणि पौडेल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन कर्ण र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई घाइते भएका हुन । उनीहरुलाई सामान्य चोटपटक लागेको छ।
कानुन ब्यावसायी सँगको तनावपछि अहिले सर्वोच्च अदालत परिसरमा सशस्त्र प्रहरी बल पनि तैनाथ गरिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै विरोधमा उत्रिएका कानुन व्यवसायीहरुले बिहीबार दुई घण्टा सर्वोच्च सहित उपत्यकाका सबै अदालतमा बहस बहिष्कार गरेका थिए।
सर्वोच्च परिसरमा धर्ना दिन जाँदा प्रहरीले रोकेपछि धकेलाधकेल भएको हो। त्यसक्रममा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरे।

वकिलहरूको प्रदर्शनस्थलमा माइक राख्ने कुराले प्रहरीले वकिलहरूमाथि हस्तक्षेप गरेको थियो। अवस्थालाई नियन्त्रण बाहिर जान नदिन अहिले सशस्त्र प्रहरी पनि खटाइएको छ।

२५ कार्तिक २०७८, बिहीबार १३:५४  मा प्रकाशित

Write your Comment