एमआरपी विस्थापन गरेर आजदेखि ई-पासपोर्ट जारि गरिदै

१ मंसिर २०७८, बुधबार ०८:२६ प्रकाशित

सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनमा बुधबार दिउँसो हुने एक समारोहकाबीच ई पासपोर्ट जारी गर्ने तयारी विभागले गरेको छ।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने उद्देश्यले ई पासपोर्ट जारी गर्न लागिएको जानकारी दिए। त्रिपुरेश्वरमा दिउँसो हुने एक समारोहबीच परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्ने कार्यक्रम छ ।
महानिर्देशक अर्यालका अनुसार ई पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्।

त्यसैगरी ई–पासपोर्टका पृष्ठहरूमा नेपालका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र चर्चित ठाउँहरूको तस्बिर राखिएको अर्यालले जानकारी दिए। पहिलो कभर र अन्तिम कभरका भित्री पृष्ठमा डाँफे र नेपालको राष्ट्रिय झन्डा राखिएको छ।
पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ। अरू प्रकारका पासपोर्ट आगामी जनवरीदेखि मात्रै जारी हुने अर्यालले बताए। विभागले सुरुका केही दिन सीमित मात्रै ई–पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।

मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ। सेवाग्राहीले ई–पासपोर्ट एकै दिनमा पाउने अर्यालले बताए।

विभागले २० लाख ई–पासपोर्ट छपाइ गर्न सन् २०२० डिसेम्बरमा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटी कम्पनीसँग २ अर्ब ४८ करोड रुपैयाँमा सम्झौता गरेको थियो।

१ मंसिर २०७८, बुधबार ०८:२६  मा प्रकाशित

Write your Comment