चितवनमा घूस लिदै गर्दा मालपोत कार्यालय प्रमुख र अमिन पक्राउ

१५ मंसिर २०७८, बुधबार १४:१४ प्रकाशित

सेवाग्राहीबाट घूस लिँदै गर्दा चितवनमा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई घूस लिँदै गर्दा पक्राउ गरेको हो ।
मालपोत अधिकृत र वडा कार्यालयका अमिनले भरतपुरका एक सेवाग्राहीसँग जग्गाको कित्ताकाट गरिदिए बापत घूस लिएका हुन् । करिब ३८ कट्ठा जग्गा आफ्नै बाबुबाट श्रीमती, छोरा र छोरीको नाममा अंशबन्डा गरिदिन भन्दै सेवाग्राही वडा कार्यालय तथा मालपोत पुगेका थिए । जग्गाको अशंबन्डा नभई प्लटिङ गर्न लागेको भन्दै सेवाग्राहीसँग कार्यालय प्रमुख र अमिनले घूस मागेको जनाइएको छ । अशंबन्डा गर्दा पनि घूस मागेको भन्दै सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए ।

कार्यालय प्रमुख पौडेलका साथबाट अख्तियारको टोलीले १५ लाखको चेक र ५० हजार नगद बरामद गरेको छ । उनलाई कार्यालयभित्रै रहेको क्वाटरमा घूस लिँदै गर्दा पक्राउ गरिएको हो । प्रमुख पौडेलले १५ लाखको चेक घूस नभई आफूले लिनुपर्ने ठाँउबाट प्राप्त भएको दाबी गरेका छन् ।

१५ मंसिर २०७८, बुधबार १४:१४  मा प्रकाशित

Write your Comment