समृद्धि बिकास र राष्ट्रीयताको रक्षाकोलागि निर्वाचन आवश्यक : अध्यक्ष ओली

८ पुष २०७८, बिहीबार २०:१४ प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्धि बिकास र राष्ट्रीयताको रक्षाको लागिका लागि निर्वाचनमा जानु पर्ने कुरामा जोड दिनु भएको छ ।
नेकपा एमाले पर्साद्वारा आज जगरनाथपुरमा आयोजित दशौं राष्ट्रिय महाधिवेशनको सन्देश सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अहिलेको सरकार जनादेशको अपमान गर्दै बनेकोले त्यो देश र जनता प्रति जिम्मेवार नरहेको दावी गर्नु भयो ।
उहाँले नेपालको समग्र भुगोल समेटेर नक्सा जारी गर्ने र नक्सामा भएको जमिन हाम्रो हो भनेर माग्न सक्ने एमाले मात्र भएको र अरुसँग त्यो तागत नरहेको बताउनु भयो ।

पुर्ब प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलिले हुलाकी सडकले तराई मधेशको समृद्धि र विकासको ढोका खोलेको बताउदै पहिलो पटक आफू प्रधानमंत्री हुदा हुलाकी सडक निर्माणकालागि चार अर्व ३६ करोड बिनियोजन गरेको स्मरण गराउनु भयो । उहाँले ज्येष्ठ नागरिकको सम्मान गर्दै नेकपा एमाले सरकारले ०५१ सालमा १ सय बाट शुरु गरेको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता अहिले ४ हजार पुगेको बताउनु् भयो ।                     
उहाँले अपांग, असक्त, एकल महिलाको जीवन स्तरमा आमुल परिवर्तन ल्याउन उनीहरुलाई पनि सामाजिक सुुरक्षा भत्ताको ब्यवस्था नेकपा एमालेको सरकारले गरेको जीकीर गनुृ भयो ।

अध्यक्ष ओलिले हिजो आफूहरुले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थान सम्म आइपुगेको बताउदै प्रचण्डले कुरा नबुझ्दा पतनको बाटो तर्फ माओवादी केन्द्र पुगेको दावी गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले नै सुखी नेपाली समृद्ध बनाउन सक्ने दाबी गर्नु भयो ।
कार्यक्रममा केन्द्रिय सचिब तथा प्रदेश २ का इन्चार्ज रघुवीर महासेठ,स्थायी कमिटी सदस्य प्रभू साह,प्रदेश नम्बर २ का सह इन्चार्जहरु पुरुषोत्तम पौडेल, ज्वाला साह,अच्युत मैनाली,सुमन प्याकुरेल, लिला श्रेष्ठ, पोलिटब्युरो सदस्य जुली महतो, केन्द्रीय सदस्य बद्री न्यौपाने, रन्जना सरकार, दिवाकर देवकोटा, उद्धव रेग्मी, राजकुमार गुप्ता, निर्मला देवकोटा प्रदेश सदस्य जयप्रकाश थारु लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको थियो ।               
पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार जालिम मिया, पर्सा क्षेत्र नम्बर २ का नेकपा माओवादीका उम्मेदवार मोसालिम मिया , कालीकामाई गाउँपालिकाका वडाध्यक्ष सोनालाल चौरसिया ,लोसपाका युवा नेता चन्दन मिश्र, पत्रकार मनोज मिश्र र बाराका गरि ६ हजार ९ सय ८० जना नेकपा एमालेमा प्रवेश गरेका छ्न । कार्यक्रम जिल्ला अध्यक्ष प्रभु हजराको सभापतित्वमा सम्पन्न भएको थियो ।

८ पुष २०७८, बिहीबार २०:१४  मा प्रकाशित

Write your Comment