बारा,पर्सा,धनुषा, सिरहा, महोत्तरीसहित मध्य तराइका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । मानिसहरु घर बाहिर निस्कनै कठिन भएको छ ।
शीतलहरसँगै चिसो अत्यधिक बढेको छ । बजारमा मानिसको चहलपहल पनि कम भएको छ । कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउन समेत कठिन भएको छ । बाक्लो कुहिरो र शीतलहरले नजिकै सम्म देख्न पनि समस्या हुन थालेको छ ।
बुधबार र बिहीवार भएको वर्षाका कारण चिसो बढेको छ । बिहीवार हावा चलेपछि आज अत्यधिक कुहिरो लागेको छ । चिसो बढेपछि सर्वसाधारण आगो तापेर घरमै बसेका छन् । विशेष गरी बाहिर काम गर्ने मजदुर बढी समस्यामा परेका छन् ।
विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ । शीतलहरबाट तराइ मधेसका मुसहर, चमार, डोमलगायतका बिपन्न परिवार वर्षेनी पिरोलिन्छन् । बाक्लो लुगा लगाउन नपाएकै कारण कतिपय विपन्न नागरिकले चिसोका कारण ज्यान गर्नुपरेका छन् ।