सिसिएमसीद्वारा शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउन सिफारिस

१४ माघ २०७८, शुक्रबार १९:४८ प्रकाशित

काठमाडौं १४ माघ :

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ।

आज बसेको सिसिएमसीको बैठकले शिक्षक संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिनुभयो ।

नेपालका अनुसार शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्ने छन। यसअघि कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि माघ १५ गतेसम्म हिउँद बिदाको रूपमा दिन भनेको थियो।
तर अझै संक्रमण नियन्त्रणमा आइनसकेको हुँदा त्यसलाई लम्ब्याउन सिफारिस भएको हो।
शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरे पनि वैकल्पिक र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न भनेर सिफारिस गरेको’ नेपालले बताउनुभयो ।

यस्तै, कोरोना फैलिएपछि विश्वविद्यालयले सञ्चालन गरेका परीक्षाहरूमा पनि असर परेको थियो। विश्वविद्यालयले सञ्चालनमा रहेका परीक्षालाई स्थगित गरेको थियो।

त्यसलाई पनि स्वास्थ्यका मापदण्डहरू पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई सिफारिस भएको नेपालले बताउनुभयो ।

यसैगरी सार्वजनिक यातायातको लागि जोर-बिजोर प्रणाली हटाउन सिफारिस भएको छ।

निजी सवारी साधन र ट्याक्सीको हकमा भने जोर-बिजोर प्रणाली लागु नै गर्न सिफारिस भएको उहाले बताउनुभयो ।

यस्तै, यसअघि सिफारिस गरिएका डान्स बार, सिनेमा हल, क्लब लगायतलाई माघ १५ गते गतेसम्म बन्द गरिएकोमा माघ मसान्तसम्म लम्ब्याउन सिफारिस गरिएको छ।

१४ माघ २०७८, शुक्रबार १९:४८  मा प्रकाशित

Write your Comment