सिमराका दुई वटा सहकारीमा एकैरात चोरी, जीतपुरसिमराका सहकारी असुरक्षित बन्दै, प्रहरीको सुरक्षा फितलो हुदै

२०८० माघ १२, शुक्रबार प्रकाशित

माघ १२, सिमराः बाराको सिमरामा बिहीवार राती दुई वटा सहकारी संस्थामा एकैपटक चोरी भएको छ । जीतपुरसिमरा २ स्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्था र जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।

करिब दुई सय मिटरको दुरीमा रहेका दुवै सहकारीमा भएको घटना हेर्दा एउटै व्यक्ति वा समुहले चोरी गरेको हुन सक्ने आशंका गरिएको छ । सिमरा महिला साकोसको ताला फुटाएर कार्यालयभित्र प्रवेश गरेका चोरले रकम फेला नपारेपछि सिसि क्यामराको हार्डडिक्स चोरेर लगेका छन् । दुवै सहकारी संस्थाबाट सिसि क्यामराको रेकर्डिङ सुरक्षित रहने हार्डडिक्स चोरी भएको छ ।

झ्यालको ग्रिल निकालेर भित्र पसेका चोरले जनकल्याण सहकारीमा पैसा राख्ने भल्ट र दराजहरु फुटाएका छन् भने कागजात यत्रतत्र फालेका छन् । भल्टमा पैसा नभएपनि  दराजमा करिव ४ हजार नगद रहेको र सो पैसा सहित चोरले क्यामराको हार्डडिक्स चोरेर लगेका हुन् ।

यता सिमरा महिला सहकारीमा भएको चोरीको प्रकृति उस्तै छ । चेन गेटको ताला फुटाएर भित्र पसेका चोरले पैसा नभेटेपछि क्यामराको हार्डडिक्स चोरी गरेका हुन् ।

सिमरा महिला सहकारीमा चोरी भएको यो दोस्रो पटक हो । यसअघि २०७९ साउन १२ गते उक्त सहकारी संस्थामा पहिलो पटक चोरी भएको थियो । सो समयमा पनि सिसि क्यामराको हार्डडिक्स लगिएको थियो ।

जीतपुरसिमरामा पछिल्लो समय सहकारी र वित्तिय संस्थामा चोरी हुने क्रम बढेको छ । यसअघि मनहर्वाका दुई वटा सहकारी संस्थाबाट लाखौं रकम चोरी भएको थियो । जीतपुरसिमरा १८ मनहर्वास्थित साना किसान कृषी सहकारी संस्थाबाट २०७९ असार १९ गते १२ लाख ७४ हजार रुपैया चोरी भएको थियो ।

यसैगरी मनहर्वामै रहेको मौवादेवी बचत तथा ऋण सहकारी संस्थामा गत असोज र कार्तिकमा दुई पटक चोरी भयो । असोज २८ गते तीन लाख १७ हजार र कार्तिक २१ गते १३ हजार रुपैया चोरी भएको थियो ।

यस्तै जीतपुरसिमरा १८ स्थित उचिडिमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा मंसिर ३ गते ताला फोडेर प्रिन्टर र हार्डडिक्स चोरी गरिएको थियो । यता जीतपुरसिमरा १५ डुमरवानामा गत मंसिर ९ गते राती एटिएम मेसिन फोडेर रकम चोरीको प्रयास भएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालीकामा भएका सहकारी र बित्तिय संस्थामा भएका चोरीका घटनाले यहा रहेका सहकारीहरू असुरक्षित बन्दै गईरहेका छन् । देशभर नै सहकारीमा समस्या देखिएको बेला जीतपुरसिमरामा रहेका सहकारीमा चोरीका घटना समेत बढ्नुले आम मानिसको सहकारी प्रतिको विश्वस्नियतामा कमि आउन सक्ने सहकारी क्षेत्रका अगुवाहरूनै वताउन थालेका छन् । पटक पटक यस्ता घटना भए पनि प्रहरी प्रशासनले चोर समाउन नसक्दा प्रहरीको सुरक्षा व्यवस्था प्रति नै चुनौती देखिएको छ । आम नागरिकको जनधनको सुरक्षा गर्नुपर्ने प्रहरीले घटना रोक्न नसकेको, घटनाका दोषी पत्ता लगाउन नसक्नु, समयमा प्रहरी घटनास्थलमा नआउनुले यहाका नागरीकले असुरक्षित महसुस गर्न थालेको स्थानियले बताए ।

Write your Comment