पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान आजदेखि सुरु

२२ माघ २०८१, मंगलवार ०७:४३ प्रकाशित

काठमाडौं २२ माघ :
सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशव्यापी एचपीभी खोप अभियान आजदेखि सुरु गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्चमाविबाट बिहान ११ बजे खोप अभियान शुभारम्भ गर्नेछन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ ।

अभियानको क्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप दिने लक्ष्य छ ।

स्वास्थ्य सेवा विभाग मातहतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो ।

अभियान सफल कार्यान्वयनका लागि १८ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थालाई खोप केन्द्रको रूपमा तोकिएको छ भने २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिनेछ ।

राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी यस वर्षदेखि नै एचपीभी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको बताए ।

एचभीपी खोप विश्व स्वास्थ्य संगठनबाट प्रमाणित गुणस्तरयुक्त खोप हो र संसारका धेरै देशमा प्रयोग हुँदै अएको खोप हो’ डा. अधिकारीले भने, ‘नेपालमा प्रयोग गर्नको लागि नेपालको औषधि व्यवस्था विभागबाट अनुमति पाइसकेको छ । त्यसैले खोप निर्धक्क लगाउनुहोस् ।’

एचपीभी खोप लगाउन कहाँ जाने ?

एचपीभी खोप अभियानको रूपमा नेपालभर नै सञ्चालन हुँदैछ । यस अभियानमा एचपीभी खोप ६ देखि १० सम्म अध्ययन–अध्यापन हुने विद्यालयबाट प्रदान गरिंदैछ । त्यसैले अभियान सञ्चालनको समयमा आ–आफ्नो विद्यालयमा गएर कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने छात्राले एचपीभी खोप लगाउन पाउँछन् ।

साथै, विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूले पनि यस अभियान सञ्चालनको समयमा नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्छन् ।

२२ माघ २०८१, मंगलवार ०७:४३  मा प्रकाशित

Write your Comment