एमालेको आह्वानमा देशैभरका पालिकामा जनप्रदर्शन /जीतपुरसिमरामा र्याली तथा कोणसभा सम्पन्न

२०८२ कार्तिक २५, मंगलबार प्रकाशित

बारा २५ कार्तिक :
नेकपा एमाले केन्द्रीय कमिटीको आह्वानमा मुलुकभरका ७५३ वटै पालिकामा एमालेले जनप्रदर्शन तथा सभाको आयोजना गरेको छ। यसैगरी बारा तथा पर्साका पालिकाहरूमा जनप्रदर्शन मोटरसाइकल आयोजना गरिएका छन्।
यसैबिच एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले मंगलबार सिमरामा जनर्याली तथा कोणसभाको आयोजना गरेको छ ।

उपमहानगर कमिटीको नेतृत्वमा आयोजित र्याली सिमरा चोकबाट नेपाल टेलिकम, विकासशील चोक, एयरपोर्ट रोड हुँदै पुनः सिमरा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई एमाले पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साह, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहले सम्बोधन गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेतृ साहले जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गरी दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने बताईन् । आन्दोलनको समयमा घुसपैठ गरेर सार्वजनिक तथा व्यक्तिगत सम्पतिमा क्षति पुर्याउनेले उन्मुक्ती नपाउने उनको भनाई थियो । उनले विगठित प्रतिनिधिसभालाई पुर्नस्थापना गर्न समेत माग गरेकी छिन् ।

त्यसैगरी एमाले प्रदेश सचिव पौडेलले जेनजी आन्दोलनमा विद्यार्थीमाथि भएको गोली प्रहारको घटना, जेनजी आन्दोलनका नाममा देशको प्रशासनीक भवन, सार्वजनिक सम्पति र नेताका घर जलाउने घटनको छानविन गरिनुपर्ने बताए । उनले एमालेमाथि अहिले चौतर्फी घेराबन्दी गर्ने काम भईरहेको भन्दै त्यसविरुद्ध एमालेका नेताकार्यकर्ता जागरुक हुन जरुरी रहेको बताए । उनले एमालेले मात्रै जनताको पक्षमा काम गर्ने भएकोले जनता एमालेको पक्षमा भएको दाबी समेत गरे।
एमाले नगर कमिटी अध्यक्ष शाहले जीतपुरसिमरा एमालेमय बनाउने घोषणा गरे ।

संविधानको रक्षा र प्रतिनिधिसभा विगठनको विरोधमा र पुनस्थापनाका लागि रयाली निकालिएको हो । नाँचगानसहित र्यालीमा सहभागी एमालेका कार्यकर्ता उत्साहित देखिन्थे ।

र्यालीमा नेकपा एमाले केन्द्रीय सदस्य मन्जु थापा, सरस्वतीदेवी चौधरी, एकवाल मियाँ, एमाले मधेश प्रदेश सचिवालय सदस्य सुन्दर विक, प्रदेश कमिटी सदस्य देवनारायण चौधरी, किशोर शर्मा,सीता गुरुङ, चयन गुरुङ, सुभद्रा लम्साल, सीता सुवेदी, एमाले बाराका सचिव अमृत शर्मा बजगाई, उपसचिव भावना आचार्य, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, विभिन्न वडामा निर्वाचित वडाध्यक्ष, २४ वटै वडाबाट एमालेको विभिन्न कमिटीमा रहेका अगुवा नेताकार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रविन्द्रराज भण्डारीले गर्नुभएको थियो।

Write your Comment