पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

२०८३ जेष्ठ ५, मंगलबार प्रकाशित

पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

यसअघि उनलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले उक्त आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश जारी गरेको हो ।
सर्वोच्च प्रशासनले आदेश बदर भएको अनि धरौटी माग गर्ने आदेश भएको जानकारी वेबसाइटमार्फत गराएको छ । यद्यपि लिखित आदेश भने आउन बाँकी छ ।

विशेष अदालतले उनको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचना सहित १६ पुसमा तत्कालका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

पूर्वमन्त्रीहरु राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैंया घुस लिएको आरोप थियो ।

भूमि आयोग कास्कीको अध्यक्षमा खम बहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको आरोपमा एकमुष्ट ७८ लाख रुपैयाँ बिगो मागदाबी अख्तियारले गरेको थियो ।

घुस दिएको आरोपमा सुजन लामामाथि पनि त्यति नै बिगो मागदावी सहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

Write your Comment