नेपाल कम्युनिष्ट पार्टी (एमाले) जीतपुरसिमरा उपमहानगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै मङलबार सम्पन्न भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा भएको बैठकले पार्टी सुदृढीकरण र स्थानीय तहको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न सांगठनिक तथा राजनीतिक निर्णय गरेको छ ।
बैठकमा पार्टीले सुरुगरेको ‘मिसन पार्टी जागरण अभियान’ लाई थप प्रभावकारी बनाउन असार २० गते उपमहानगरपालिका अन्तर्गतका सबै वडाहरूमा अनिवार्य रूपमा वडा कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यसैगरी असार २५ गतेभित्र सम्पूर्ण पार्टी सदस्यहरूको सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।
बैठकले जीतपुरसिमरा उपमहानगरपालिकाले माग गरे बमोजिम भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सहजीकरण समितिका लागि एमालेको तर्फबाट रमेश सापकोटालाई प्रतिनिधि चयन गरी पठाउने निर्णय गरेको नगर सचिव रवीन्द्रराज भण्डारीले जानकारी दिनुभयो ।
एमाले नगर अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य तथा बारा इन्चार्ज अच्युत मैनालीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले पार्टीलाई एकढिक्का बनाएर लैजान आपसी सहकार्य अपरिहार्य रहेको बताए । उनले पार्टीमा प्रतिवद्ध र संगठित गरेर लैजानुपर्ने कुरामा जोड दिनु भयो ।

बैठकमा एमाले केन्द्रीय सदस्य सीता सुवेदी, मधेस प्रदेश सचिव मनोज पौडेल लगायतका नेताहरूले पार्टीको आगामी कार्यदिशा र संगठन विस्तारबारे धारणा राखेका थिए । बैठकमा एमाले मधेस प्रदेश सदस्य कमलेश झा,प्रदेश विभाग सदस्य दिनेश्वर ठाकुर, जिल्ला सचिवालय सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीलगायत जिल्ला कमिटी,नगर कमिटीका सदस्यको उपस्थिती रहेको थियो ।
