पर्सागढी नगरपालिकाको १३ औँ नगरसभा सम्पन्न ५६ करोडको बजेट पारित

२०८२ अषाढ ७, शनिबार प्रकाशित

पर्साको पर्सागढी नगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको १३ औ नगरसभामा नगर प्रमुख गोकर्ण पाठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र खेलकुदलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले भने, “समृद्ध पर्सागढी निर्माणको यात्रामा हामीले जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमलाई अगाडि सारेका छौँ । हाम्रो प्रयास शिक्षित, स्वस्थ, आत्मनिर्भर र प्रगतिशील पर्सागढी बनाउनेतर्फ केन्द्रित छ ।”
मेयर पाठकले योजना कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गरिने बताए । उनले भने, “हामीले ल्याएका योजनाहरू कागजमा मात्र सीमित नरहुन्, व्यवहारमा कार्यान्वयन होस् भन्नेमा हाम्रो विशेष ध्यान रहनेछ ।”

नगरसभामा उपमेयर पूजा चौधरीले ५६ करोड ६ लाख २ हजार ४ सय ७९ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ७६ लाख,सङ्घीय सशर्त अनुदान २६ करोड ९० लाख, राजस्व बाँडफाँडतर्फ प्राप्त हुने १० करोड ६१ लाख १ हजार ८९९, प्रदेश वित्तीय समानीकरण अनुदान, ८२ लाख ६ हजार, प्रदेश सशर्त अनुदान, ९५ लाख, प्रदेश राजस्व बाँडफाँडबाट प्राप्त हुने ८० लाख ८४ हजार ५८०, विशेष अनुदान, ३० लाख, समपुरक अनुदान २० लाख,आन्तरिक आय २ करोड ७१ लाख १० हजार रुपैयाँ रहेको छ ।

नगर सभामा प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद साहले स्वागत मन्तव्य राख्दै जनप्रतिनिधि र कर्मचारीहरूबिचको सहकार्यले पर्सागढी समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले भने, “जबसम्म म यो पद र जिम्मेवारीमा छु, पर्सागढीलाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्दिनँ । हाम्रो एकताको बलले धेरै सम्भव छ ।”

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद पौडेलले गरेका थिए । कार्यक्रममा नगरपालिकाका १ देखि ९ नम्बर वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारीहरू, सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रमको अन्त्यमा नगरपालिकाबाट अवकाश प्राप्त कर्मचारीहरू र उत्कृष्ट कार्य प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मानसमेत गरिएको थियो ।

Write your Comment