नेकपा एमाले पार्टीको पदाधिकारी संख्या बढाउने लगायत विधान संशोधन नगर्ने भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार गोदावरीबाट पारित विधानअनुसार नै नयाँ नेतृत्व चयन हुनेछ ।
भदौ २० देखि २२ गते भएको दोस्रो विधान महाधिवेशनले १९ जना पदाधिकारीबाट संख्या घटाएर १५ मा कायम गर्ने निर्णय गरेको छ । जसमा, वरिष्ठ उपाध्यक्ष नराखी ३ जना मात्र उपाध्यक्ष रहने प्रावधान राखिएको छ ।
यस्तै, स्थायी कमिटी नराखी केन्द्रीय कमिटीको संख्या २५१ जना रहने गरी विधान संशोधन गरेको थियो।
आकांक्षी बढ्दै जाँदा व्यवस्थापनका लागि विधान संशोधन प्रस्ताव गर्ने चर्चा चलेको थियो । ईश्वर पोखरेल समूहले भने संशोधन हुन नदिने अडान राख्दै आएको थियो ।
३ महिनाअघि मात्र पारित गरेको विधानलाई यति छिटो संशोधन गर्दा व्यवहारिक नदेखिने निचोड निकालिएको ज्ञवालीले बताए ।
यस्तै आजको बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ ।
एमाले सचिवालय बैठकले महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गरेको हो ।
नामावली भने भोलि सार्वजनिक गर्ने छ ।
