जीतपुरसिमरा वडा नम्बर २० मा एक महिने सिलाइ–कटाइ तालिमको समापन

२०८३ अषाढ २१, आईतबार प्रकाशित

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरमा सञ्चालित एक महिने सिलाइ–कटाइ तालिमको आइतबार एक कार्यक्रमका बिछ सम्पन्न गरिएको छ। यहि जेठ २० गतेदेखि सञ्चालनमा गरिएको तालिमको समापन मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। वडास्तरीय दुई लाख रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिममा १३ जना एकल, विपन्न तथा उत्पीडित महिलाको सहभागिता रहेको थियो। तालिम समापनका अवसरमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको वडा सचिव हरिकिशोर साहले जानकारी दिनुभयो ।


समापन कार्यक्रममा बोल्दै मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले एक महिनासम्म सिकेको सीपलाई व्यवहारमा उतारेर आफैले व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । सीप नै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै श्रम र सीपका माध्यमबाट आयआर्जन गर्दै आत्मनिर्भर बन्न सकिने उहाँ को भनाइ थियो ।

वडा अध्यक्ष रसुल अन्सारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखेर तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी आफ्नै उद्यम सुरु गर्न सहभागी महिलालाई आग्रह गर्दै स्थानीय तहले उत्पादनमुखी तथा आयआर्जनमा टेवा पुग्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले वडा बिपन्नलाइ स्वरोजगार बनाउनका लागि आयोजना गरेको तालिमको सराहाना गर्दै खुसी व्यक्त गर्नुभयो।

त्यसैगरि वडा अध्यक्ष रसुल अन्सारीले महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनका लागि वडाले सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई व्यावसायिक रूपमा उपयोग गरी आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्दै आगामी दिनमा पनि स्थानीय आवश्यकताअनुसार यस्ता सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिनुभयो। सहभागी महिलाहरूले तालिमले नयाँ सीप हासिल गर्न र स्वरोजगारको आधार तयार गर्न सहयोग पुगेको भन्दै वडा कार्यालयप्रति आभार व्यक्त गरेका थिए।

Write your Comment