जीतपुरसिमरा वडा नम्बर २० द्वारा लक्षित वर्गका भाँडावर्तन वितरण

२०८३ अषाढ २१, आईतबार प्रकाशित

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० वडाको बिनियोजित बजेट बाट लक्षित वर्गका विभिन्न समुदायका लागि भाँडावर्तन वितरण गरेको छ।
कार्यक्रम वडाध्यक्ष रसुल मियाँको अध्यक्षता सम्पन्न भएको थियो भने प्रमुख अतिथी मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको रहनु भएको थियो ।


कार्यक्रममा वडा कार्यालयको पाँच लाख रुपैयाँ बजेटबाट खरिद गरिएको भाँडावर्तन पाँच विभिन्न समुदायलाई हस्तान्तरण गरिएको हो। ती सामग्री विवाह, व्रतबन्ध, धार्मिक तथा सामाजिक कार्यक्रमलगायत सामुदायिक प्रयोजनका लागि प्रयोग गर्न सकिने जनाइएको छ। कार्यक्रममा वडाध्यक्ष रसुल मियाँले गत आर्थिक बर्षमा दलित समुदायलाई भाँडावर्तन वितरण गरिएको र यस वर्ष थप पाँच समुदायलाई समेटेर बितरण गरिएको जानकारी दिनुभयो।
उहाँले अझै छुटेका समुदायलाई आगामी आर्थिक वर्षमा पनि यस्तै कार्यक्रममार्फत समेटिने बताउँदै सामुदायिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले यस्ता कार्यक्रमले समुदायबीच सहकार्य,सामाजिक सद्भाव तथा आर्थिक भार न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो। उहाँले स्थानीय तहका जनमुखी कार्यक्रमले सामाजिक एकता, सामुदायिक विकास र स्थानीय सहभागितालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा समुदायका सदस्यहरुले वडाले उपलब्ध गराएको भाँडावर्तनले भाडा महँगो भाडामा लिनुपर्ने बाध्यता हट्ने, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भन्दै सामग्रीको संरक्षण र प्रभावकारी उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी,नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण वडा सचिव हरिकिशोर साहले गर्नुभएको थियो।

Write your Comment