नेप्लिज सोसाइटि अफ क्यालगरीको अध्यक्षमा सूर्य अधिकारी र घनेन्द्र न्यौपाने भिड्दै

२०८३ श्रावण ८, शुक्रबार प्रकाशित

श्रीराम रेग्मी
क्यालगरी,क्यानडा

क्यानडाको क्यालगरीमा रहेको नेप्लिज सोसाइटि अफ क्यालगरीको नया नेतृत्वका लागी अध्यक्षमा सूर्य अधिकारी र घनेन्द्र न्यौपाने बिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन समितिले बिहिबार उमेदबारहरुको अन्तिम नामावली प्रकाशन गरे संगै अध्यक्षमा अधिकारी र न्यौपाने बिच प्रतिस्पर्धा हुने पक्का भएको हो । अध्यक्ष संगै अन्य पदहरुमा समेत चुनाब हुने निश्चित भएको निर्बाचन समिति संयोजक प्रकाश बस्यालले जानकारी दिए । उनले संस्थाको नेतृत्वका लागी सर्वसम्मत गराउने प्रयास गरेपनि सहमती जुट्न नसक्दा अन्तत सबै पद चुनाब मार्फत निर्बाचित हुने बताए ।

११ सदस्यिय कार्यसमितिको उपाध्यक्षमा युवराज गुरुङ र अरुण लामाले उमेदबारी दिएका छन् । यस्तै सचिवमा बिश्वनाथ भण्डारी तथा सुमन चौलागाई लड्ने भएका छन् । कोषाध्यक्षमा श्रद्धा रुपाखेती र धुव्र निरौलाको उमेदवारी रहेको छ । सहसचिवमा नविन पौडेल र रमेश बस्नेत बिच प्रतिस्पर्धा हुने भएको हो ।
यस्तै समितिको इभेन्ट कोअर्डिनेटरमा किशन गुरुङ र कृष्ण गौतम, मिडिया कोअर्डिनेटरमा कमल पौडेल र लक्ष्मि लस्साल खनाल, वुमन कोअर्डिनेटरमा गिता शर्मा र नारायणी अधिकारी ढकाल पुजा, कल्चर एण्ड हेरिटेज कोअर्डिनेटरमा कृष्ण पौडेल र पुजा शिवाकोटि, युथ एण्ड स्पोर्टस् कोअर्डिनेटरमा सन्तोष देवकोटा र योगेन्द्र खत्री, सिनियर एण्ड न्यूकमर कोअर्डिनेटरमा भिमलाल अर्याल र डायना ताम्राकार उमेदवार रहेका छन् ।

नया सोच, पारदर्शी नेतृत्व र सबैको सहभागिताको नारा लिएर चुनावी मैदानमा उत्रेका अधिकारीले आफुले संस्थाको नेतृत्व गर्ने अवसर पाएमा सबैलाई समेटेर अघि बढुने बताए । उनले सामुहिक एकता र संथागत सहकार्यको प्रवर्द्धन, नेपाली पाठशाला र कार्यक्रमको दिगोपना, नेपाली कम्युनिटि भिलेज, चारै क्षेत्रबाट समाबेशी प्रतिनिधित्व तथा पारदर्शिता,सुशासन र बिधान परिमार्जनलाई आफ्नो चुनाबी प्रतिबद्धता रहेको बताए ।

 

बिश्वासको आधार सेवाको संकल्प लिएर चुनाबी मैदानमा उत्रेका न्यौपानेले आफुले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए । उनले सनातन केन्द्र स्थापना, युवा र महिला सशक्तिकरण, युवा तथा खेलकुद प्रवर्द्धन, सुशासन र पारदर्शिता, हेल्प डेस्क स्थापना तथा बर्षमा दुई पटक टाउन हल बैठक गर्ने आफ्नो चुनावी प्रतिबद्धता रहेको बताए ।

पहिलो पटक अनलाईन भोटिङ हुदै

यस पटकको निर्बाचनमा पहिलो पटक निर्बाचन समितिले अनलाइन भोटिङको व्यवस्था गरेको निर्बाचन समिति संयोजक प्रकाश बस्यालले बताए । उनले त्यसका लागि सबै मतदातलाई निर्वाचनका दिन इमेलमा भोटिङ लिंक पठाउने र सोहि मार्फत मतदाताले भोट गर्न सक्ने समेत उल्लेख गरे । निर्बाचन जुलाई २५ तारिख शनिवार बिहान ६ बजेदेखि साझ ६ बजेसम्म हुने बस्यालले जानकारी दिए । उनले निर्बाचनको नतिजा सोहि दिन राती ८ बजेदेखी प्रकाशन गर्ने समेत जानकारी दिए । यस निर्वाचनमा कुल १५७६ मतदाता रहेका छन् ।

Write your Comment