ब्राम्पटन सिटी काउन्सिलरमा गीता दवाडी ढकालको उम्मेदवारी

२०८३ कार्तिक १०, सोमबार प्रकाशित

टोरन्टो, क्यानडा

क्यानडाको ओन्टारियो प्रान्तस्थित ब्राम्पटन नगरपालिकाको सिटी काउन्सिलर पदमा नेपाली मूलकी गीता दवाडी ढकालले उम्मेदवारी दिनुभएको छ। उहाँले ब्राम्पटनको वार्ड नं. ३ र ४ बाट नगर परिषद् सदस्यका लागि प्रतिस्पर्धा गर्नुभएको हो।

ढकालले आफ्नो चुनावी अभियानमा सम्पत्ति करको पारदर्शिता, आधारभूत पूर्वाधार विकास, सार्वजनिक सुरक्षा, महिला सशक्तीकरण, ज्येष्ठ नागरिकको हित संरक्षण तथा युवाका लागि अवसर विस्तारलाई प्राथमिकतामा राख्नुभएको छ। स्थानीय बासिन्दाका आवश्यकता र चासोलाई नगर परिषद्मा प्रतिनिधित्व गर्दै समावेशी, सुरक्षित र व्यवस्थित समुदाय निर्माणमा योगदान पुर्‍याउने उहाँको लक्ष्य छ।

नेपालको गोरखा जिल्लामा जन्मनुभएकी ढकालको जीवनयात्रा शिक्षण पेसा, पारिवारिक जिम्मेवारी, क्यानडामा व्यावसायिक स्थापना र सामाजिक सेवासँग जोडिएको छ। सन् २०११ मे २१ मा परिवारसहित क्यानडा आउनुभएकी उहाँ त्यसयता ब्राम्टनमा बसोबास गर्दै आउनुभएको छ। नेपाली समुदायका नयाँ आप्रवासी, महिला तथा परिवारलाई सहयोग गर्ने सामाजिक गतिविधिमा संलग्न रहँदै आउनुभएकी ढकालले अहिले स्थानीय राजनीतिमार्फत समुदायको प्रतिनिधित्व गर्ने प्रयास गर्नुभएको हो।

 

गोरखादेखि शिक्षण पेसासम्म

ढकालको जन्म गोरखा जिल्लाको सिमसुङ गाविस, वडा नं. ४ मा भएको हो। उहाँका बुबा शिक्षक हुनुहुन्थ्यो। छ जना दिदीबहिनी र दुई जना भाइ गरी आठ सन्तान रहेको परिवारमा हुर्किनुभएकी उहाँले गोरखाबाटै आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएको थियो।

उहाँले गोरखाको हिमालय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा प्राप्त गर्नुभयो। त्यसपछि गोरखा क्याम्पसमा आईएड तहमा अंग्रेजी र नेपाली विषय अध्ययन गर्नुभयो। विवाह र पारिवारिक जिम्मेवारीका बीच पनि उहाँले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै स्नातक तह पूरा गर्नुभएको बताउनुभएको छ।

अध्ययन पूरा गरेपछि उहाँ शिक्षण पेसामा प्रवेश गर्नुभयो। सुरुमा स्वारा भन्ने ठाउँको विद्यालयमा शिक्षकका रूपमा नियुक्त हुनुभएकी ढकालले कक्षा तीनसम्म पढाइ हुने विद्यालयमा विभिन्न कक्षाका विद्यार्थीलाई अध्यापन गराउनुभयो। सीमित स्रोतसाधन र ग्रामीण परिवेशमा काम गर्दै उहाँले शिक्षणसँगै विद्यालयको व्यवस्थापनसम्बन्धी जिम्मेवारीसमेत सम्हाल्नुभयो।

विवाहपछि श्रीमान्को गाउँमा बसाइँ सरेर उहाँले त्यहाँको विद्यालयमा पनि अध्यापन गर्नुभयो। छोरा जन्मिएपछि घर, परिवार र पेसागत जिम्मेवारीबीच सन्तुलन कायम गर्नु उहाँका लागि थप चुनौतीपूर्ण बन्यो। विद्यालयसम्म पुग्न करिब एक घण्टा पैदल हिँड्नुपर्ने अवस्था भएपछि उहाँले घरनजिकैको जनकल्याण माध्यमिक विद्यालयमा पढाउने अवसर पाउनुभयो। त्यहाँ उहाँले करिब छ सात वर्ष अंग्रेजी विषय अध्यापन गर्नुभयो।

त्यतिबेला सानो बच्चाको हेरचाह, घरायसी काम र शिक्षणलाई सँगसँगै अघि बढाउनुपर्थ्यो। बच्चालाई घरमा सुताएर विद्यालय जाने, बीचको समयमा फर्किएर खाना खुवाउने, पशुका लागि घाँसपात गर्ने र पुनः विद्यालय फर्किएर पढाउने दिनचर्या रहेको उहाँले अन्तर्वार्तामा सुनाउनुभएको छ।

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले उहाँले अतिरिक्त कक्षा तथा ट्युसन सञ्चालन गर्न पनि पहल गर्नुभयो। अंग्रेजी र गणित विषयको अध्ययनलाई प्राथमिकता दिँदै विद्यार्थीको शैक्षिक स्तर सुधार गर्न प्रयास गरेको उहाँको भनाइ छ।

पछि परिवार चितवन हुँदै काठमाडौं सरेपछि उहाँले ग्रामीण क्षेत्रको शिक्षण पेसा छोडेर काठमाडौंको एक निजी विद्यालयमा अध्यापन सुरु गर्नुभयो।

क्यानडामा नयाँ जीवन र व्यावसायिक अनुभव

परिवारको भविष्य र छोराछोरीको शिक्षालाई ध्यानमा राख्दै उहाँ र श्रीमान्ले क्यानडा जाने निर्णय गर्नुभयो। आवश्यक प्रक्रिया पूरा भएपछि सन् २०११ मे २१ मा उहाँहरू क्यानडा आइपुग्नुभयो र ब्राम्टनमा बसोबास सुरु गर्नुभयो।

नयाँ देशमा जीवन सुरु गर्दा भाषा, रोजगारी, सरकारी सेवासुविधा र सामाजिक परिवेशबारे जानकारी हासिल गर्नुपर्ने अवस्था थियो। ती अनुभवले उहाँलाई नयाँ आप्रवासीले भोग्ने कठिनाइ नजिकबाट बुझ्ने अवसर दिएको उहाँ बताउनुहुन्छ।

क्यानडा आएपछि उहाँले चाइल्ड केयर असिस्टेन्टसम्बन्धी अध्ययन पूरा गरी आवश्यक लाइसेन्स लिनुभयो। त्यसपछि आफ्नै घरमा होम डे केयर सञ्चालन गर्नुभयो। करिब तीन वर्ष आफ्नै सेवा सञ्चालन गरेपछि अन्य होम डे केयरमा पनि काम गरेर अनुभव हासिल गर्नुभयो।

पछि उहाँले रियल इस्टेटसम्बन्धी लाइसेन्स प्राप्त गरी घरजग्गा कारोबारको क्षेत्रमा काम सुरु गर्नुभयो। पछिल्ला दुई–तीन वर्षदेखि यस क्षेत्रमा सक्रिय रहँदै आएको उहाँले बताउनुभएको छ। शिक्षण, बालहेरचाह र रियल इस्टेटसम्बन्धी अनुभवले स्थानीय परिवारका आवश्यकता तथा आर्थिक चुनौती बुझ्न सहयोग पुगेको उहाँको भनाइ छ।

 

महिला सशक्तीकरण र सामाजिक सेवा

क्यानडामा नयाँ जीवन सुरु गरेका नेपालीलाई आफूले भोगेका कठिनाइ दोहोरिन नदिन सहयोग गर्नुपर्छ भन्ने सोचले ढकाल सामाजिक सेवामा सक्रिय हुनुभयो। नेपालबाट आएका नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, सरकारी सेवासुविधाबारे जानकारी लिन र आवश्यक मार्गदर्शन प्राप्त गर्न सहयोग गर्दै आएको उहाँले बताउनुभएको छ।

उहाँ विभिन्न गैरनाफामूलक संस्थामा आबद्ध रहनुभएको छ। नेपाली महिला तथा नयाँ आप्रवासीलाई सहयोग गर्ने उद्देश्यले महिला समुदायसम्बन्धी संस्था स्थापना गरी त्यसको नेतृत्वसमेत गर्नुभएको उहाँको भनाइ छ।

 

 

 

 

 

 

उक्त संस्थामार्फत महिला दिवस, दसैँ र तिहारजस्ता कार्यक्रम आयोजना गर्ने गरिएको छ। यस्ता कार्यक्रमले महिलालाई सामाजिक गतिविधिमा सहभागी गराउनुका साथै क्यानडामा हुर्किरहेका नयाँ पुस्तालाई नेपाली भाषा, संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्य राखेको उहाँले बताउनुभयो।

समुदायमा सक्रिय रहेकै क्रममा उहाँले पिल क्षेत्रीय प्रहरी (Peel Regional Police) सँग कम्युनिटी एम्बेसडरका रूपमा काम गर्ने अवसर प्राप्त गर्नुभयो। करिब तीन वर्षदेखि उक्त भूमिकामा आबद्ध रहेको बताउने ढकालले प्रहरी र समुदायबीच सम्बन्ध विस्तार तथा सहकार्यमा योगदान दिँदै आएको उल्लेख गर्नुभयो।

संघीय, प्रादेशिक र स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गर्दै समुदायका समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने प्रयास गरेको उहाँको भनाइ छ। सामाजिक सेवामा प्राप्त अनुभवलाई स्थानीय तहको नेतृत्वमा उपयोग गर्ने उद्देश्यले आफूले सिटी काउन्सिलर पदमा उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ।

 

सम्पत्ति कर, पूर्वाधार र सुरक्षालाई प्राथमिकता

ढकालको चुनावी अभियानको प्रमुख एजेन्डामध्ये सम्पत्ति करको पारदर्शिता र सम्भावित न्यूनीकरण रहेको छ। नगरपालिकाले सम्पत्ति करबाट उठाएको राजस्व कहाँ र कसरी खर्च गरिरहेको छ भन्ने विषयमा नागरिकले स्पष्ट जानकारी पाउनुपर्ने उहाँको धारणा छ।

 

नगरको बजेट र खर्चको अध्ययन गरी करको भार कम गर्ने सम्भावना खोज्ने तथा सार्वजनिक सेवामा खर्च हुने रकमको प्रभावकारिता बढाउन पहल गर्ने उहाँको योजना छ। करसम्बन्धी निर्णय गर्दा नगरको आर्थिक अवस्था र आवश्यक सार्वजनिक सेवाबीच सन्तुलन कायम गर्नुपर्ने उहाँको भनाइ छ।

त्यसैगरी सडक, सडकबत्ती, पानी, ढललगायतका आधारभूत पूर्वाधारका योजना निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने विषयलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। नगर परिषद्, मेयरको टोली र सम्बन्धित निकायसँग सहकार्य गरी विकास निर्माणका काम प्रभावकारी बनाउन सुझाव दिने उहाँको प्रतिबद्धता छ।

महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा युवाका आवश्यकतालाई सम्बोधन गर्ने, विविधता र समावेशितालाई प्रवर्द्धन गर्ने तथा सार्वजनिक सेवामा पारदर्शिता र जवाफदेहिता कायम गर्ने विषय पनि उहाँका एजेन्डामा समेटिएका छन्।

ब्राम्पटनमा सवारीसाधन चोरी तथा सुरक्षासम्बन्धी चिन्तालाई सम्बोधन गर्न प्रहरी, नगर प्रशासन र समुदायबीच सहकार्य बढाउनुपर्ने उहाँको भनाइ छ। समुदायलाई सुरक्षित बनाउन सचेतना अभिवृद्धि र अपराध न्यूनीकरणका उपायमा जोड दिने उहाँको योजना छ।

ढकालले नेपाली समुदायबाट आफूलाई समर्थन र सद्भाव प्राप्त भएको बताउनुभएको छ। व्यक्तिगत लाभभन्दा समुदायको हितलाई प्राथमिकता दिँदै आएको आफ्नो सामाजिक यात्रालाई स्थानीय नेतृत्वमा समेत निरन्तरता दिन चाहेको उहाँको भनाइ छ।

Write your Comment

↑