शंकर क्षेत्रीले गितको बिवादका बारेमा भने- सरकारको विरोध होइन सुझाव दिएको हुँ

२०८३ कार्तिक २३, सोमबार प्रकाशित

लोक तथा दोहोरी गायक शङ्कर क्षेत्रीले आफ्नो नयाँ ‘देउसी–भैलो’ गीत मार्फत आफूले सरकारको विरोध नगरेको बताएका छन् । आफ्नो गीतमा सरकारको विरोध गरेको भन्दै आलोचना हुन थालेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो स्पष्टीकरण दिएका हुन् ।

उनले फेस बुकमा लेखेका छन – ‘मैले सरकारको विरोध गरेको होइन । देशमा रहेका समस्याहरूलाई उजागर गर्दै ती समस्या कसरी सुल्झाउने भनेर देउसी–भैलोमार्फत सुझाव मात्र दिएको हुँ ।’

उनले दर्शकलाई आफ्नो गीतलाई विरोधका रूपमा नभई देश सुधारको एउटा सुझावका रूपमा बुझिदिन आग्रह गरेका छन् ।

केही दिनअघि सार्वजनिक भएको उनको गीतको बोल ‘हामीलाई जागिर चाहियो’मा सहकारी ठगी प्रकरण र रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गरिएको भन्दै रवि लामिछानेका समर्थकहरूले उनको चर्को आलोचना र बहिष्कारको माग सामाजिक सञ्जालमा भइरहेको छ । सो गीतमा राजनीतिक दलका सबै नेताहरूलाई व्यङ्ग्य गरिएको छ। यो समाचार तयार पार्दासम्म सम्म क्षेत्रीले युट्युब मार्फत तीन दिन अगाडि सार्वजनिक गरेको गीत लाई १ लाख ७५ हजारले हेरिसकेका छन् । विरोध सँगसँगै गीत लोकप्रिय बन्दै गइरहेको छ।

गीतमा के छ त्यसो ?

क्षेत्रीले ल्याएको यस गीतमा देशको वर्तमान अवस्था, बेरोजगारी, भ्रष्टाचार र राजनीतिक विकृतिबारे व्यङ्ग्य गरिएको छ । युवाहरूको मुख्य समस्या ‘जागिर’ को माग गरिएको छ । भने सुकुम्बासीको कुरालाई जोडतोडका साथ उठाइएको छ।

देशका समस्यामा नेताहरू किन चुपचाप छन् भनी प्रश्न गरिएको छ । विकास निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचारमाथि व्यङ्ग्य गरिएको गीतमा सहकारी ठगहरूलाई कारबाही नभएकोमा असन्तुष्टि जनाइएको छ ।

क्षेत्रीसहित सपना मगर, रेणु लामिछाने, प्रमेश घिमिरे, प्रेम वि.के. र सन्देश सुवेदीले स्वर रहेको गीतको शब्द, सङ्गीत र निर्देशन स्वयम् गायक क्षेत्रीले नै गरेका हुन् ।

Write your Comment

↑