थर्मलगन कालोबजारी गर्ने शुलभ अग्रवालविरुद्धको मुद्दामा बहस सकिएन,भोलि पुनः सुनुवाई हुने

२०७७ बैशाख १७, बुधबार प्रकाशित

काठमाडौं १७ बैशाख
थर्मल गनलगायत स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगी सुलभ अग्रवालको मुद्दामा बहस नसकिएपछि हेर्दाहेदै बिहीबारका लागि सरेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेशकुमार प्याकुरेलको इजलाशमा रहेको मुद्दामा तीन जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस सकेका छन् । बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गर्ने छन् ।
सरकारी वकिलहरुले व्यापारी अग्रवाललाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको किनारा हुनुपर्ने माग गर्दै बहस गरेका थिए । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवालविरुद्ध सरकारी वकील कार्यालयले तीन वर्ष कैद माग गर्दै मंगलबार मुद्दा दर्ता गरेको थियो । साथै अग्रवालसँग १५ लाख ७८ हजार ९ सय १३ विगो मागदावी गरिएको थियो ।
उनीमाथि कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा अदालतमा मुद्दा दर्ता भएको थियो । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ (क) मा अनुसार सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएमा एक वर्ष कैद अथवा १० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ ।
साथै सोही ऐनको दफा ३ (१) को दफा २ मा २० प्रतिशतभन्दा बढी मुनाफा लिई बिक्री गरेको पाइएमा एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिमाना र ऐनको दफा ५ अन्र्तगत बजारमा अभाव सिर्जना गरेर बढी मूल्यमा बेचेको खण्डमा एक वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिमाना हुने व्यवस्था रहेका छ ।
कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का नियन्त्रण र जफत) ऐन २०७० को दफा ११ अनुसार कसुरमा प्रयोगको भएको सामान जफत हुने व्यवस्था छ । सोही दफा अनुसार अग्रवालले प्रयोग गरेको पजेरो र ६७ थान थर्मल गन बरामद भइसकेको छ ।
गत २५ चैतमा महानगरीय प्रहरी अपराध महाशाखाले नक्सालबाट ६७ वटा थर्मल गन कालोबजारी गरेर महंगोमा बेच्न लागेको बेला उनी पक्राउ परेका थिए । प्रहरी आफैं ग्राहक बनेर थर्मल गन किन्न पुगेको थियो । २४ सय रुपैयाँमा चीनबाट ल्याएको थर्मल गन उनले १५ हजार रुपैयाँमा बेच्न लागेका थिए ।

Write your Comment