निशेधाज्ञा जारी गरेर एक घर एक पिसिआर परीक्षण गर्न सरोकार समितिको माग

२०७७ श्रावण १६, शुक्रबार प्रकाशित

बारा १६ श्रावण
बारामा कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलेर उच्च जोखिम सृजना हुने भएकोले जितपुर सिमरा सार्वजनिक सरोकार समितिले बारामा निषेधाज्ञा जारी गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ । सरोकार समितिको आज सिमरामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस क्षेत्रमा रहेका उद्योगहरुले कोरोना परीक्षण बिनै भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गरेको र छिमेकी पर्सा जिल्लामा समेत निशेधाज्ञा जारीगरेको अवस्थामा त्यहाँ रहेका व्यक्तिहरुको बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोबार गर्न आउँदा बारामा पनि संक्रमण फैलन सक्ने सम्भावना रहेकोले यस जिल्लालाई निषेधाज्ञा जारी गरि एक घर एक पिसिआर परीक्षण गर्नको लागि नेपाल सरकार,स्थानीय प्रशासन र स्थानीय तह संग जोडदार माग गर्ने निर्णय गरेको सरोकार समितिका संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।
त्यसका साथै बैठकले सिङ्गो बारा जिल्लामा आइसियु र भेन्टिलेटर सहितको अस्पताल नभएको अवस्थामा सिमरा,पथलैयामा आइसियु सहितको सुविधासम्पन्न कोरोना संक्रमितको उपचार हुनेगरी तत्काल अस्पताल संचालनमा ल्याउन माग गरेको छ ।
सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा,कर्ण थापा,नारायण घिमिरे,राजु राज गिरी,रमेस सापकोटा,पेसल मुल्मी,बिदुर खडकालगायतको सहभागिता रहेको थियो ।

Write your Comment