जनहित उपभोक्ता समितिको अध्यक्षमा तेस्रो पटक अमृतलाल श्रेष्ठ निर्वाचित

२०७८ पौष २, शुक्रबार प्रकाशित

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जनहित उपभोक्ता समितिको तेस्रो पटक अध्यक्षमा अमृतलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

उपभोक्ता समितिको नेतृत्व र पदाधिकारी पुर्नगठनका लागि विहिवार भएको निर्वाचनमा श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले सात मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार मधुसुधन सिटौलाले ६ मत पाएका थिए ।

१३ सदस्यीय कार्यसमितिको अध्यक्ष पदका लागि मात्रै निर्वाचन भएको थियो । निर्वाचनमा चार वटा सामुदायिक वन उपभोक्ता समितिबाट आएका १३ जना प्रतिनिधि मतदानमा सहभागी भएका थिए । मतदानमा राधाकृष्ण सामुदायिक वन उपभोक्ता समितिका ५, मुसर्नीमाई सामुदायिक वन उपभोक्ता समितिका ३, जनजागरण सामुदायिक वन उपभोक्ता समितिका ३ र भिमेश्वर सामुदायिक वन उपभोक्ता समितिका २ प्रतिनिधि सहभागी थिए ।

अध्यक्षबाहेक समितिको पदाधिकारी र सदस्य सर्वसम्मत चयन गरिएको छ । समितिको उपाध्यक्षमा ताराबहादुर कार्की, सचिव पेशलकुमार मुल्मी, कोषाध्यक्ष मिठु लामा चयन भएका छन् । यसैगरी समितिको सदस्यमा डिल्लीबहादुर थापा, नलिन्द्रबहादुर थापा,गंगा कार्की, विष्णुप्रसाद अर्याल,पदमबहादुर बस्नेत, शर्मिला तामाङ, फजेलहक अंसारी, मधुसुधन सिटौला र शोभा लामा चयन गरिएको छ ।

Write your Comment