काठमाडौं१७ जेठ :
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी सचिवालय बैठकमा एमसिसीबारे छलफल भइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा एमसिसीबारे छलफल भइरहेको एक सचिवालय सदस्यले बताए।
संसदबाट पारित हुन बाँकी रहेको र विवादित बनेको एमसिसी बजेटमा समावेश गरेको भन्दै नेकपाका केही सचिवालय सदस्य रूष्ट छन्।
बैठकमा एमसिसी कार्यदलले तयार पारेको प्रतिवेदनबारे छलफल हुँदैछ। बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी छन्।
यसअघि नेकपाले सचिवालय सदस्य झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरू रावल र ज्ञवाली सम्मिलित एमसिसी अध्ययन कार्यदल बनाएको थियो।
गत माघमा गठित उक्त कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो। तर सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।