बिरगंज १८ जेठ :
प्रदेशमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको समयमा वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशाला बन्द हुन पुगेको छ । आवश्यक सामान नहुँदा शनिबार साँझदेखि पीसीआर मेसिन सञ्चालनमा आउन नसकेको कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. निरा पाठकले जानकारी दिनुभयो। तीन दिन अगाडिदेखि आवश्यक सामग्री माग गरिए पनि उपलब्ध हुन नसकेपछि ल्याब बन्द हुन पुगेकाे उहाँको भनाइ छ ।
प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा आइतबार ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषामा २१ जना, सर्लाहीमा १०, रौतहटमा २९ जना र पर्सामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या ६ सय नाघिसकेको छ । ९८ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किसकेका छन् ।
प्रदेश सरकारले प्रादेशिक प्रयोगशाला जनकपुर र राजविराजमा रियलटाइम पीसीआर मेसिन जडान गरेको छ । तर प्रभावकारी ढंगले परीक्षण हुन सकिरहेको छैन । जनकपुरमा जडान गरिएको मेसिनको गुणस्तर र क्षमता परीक्षणकै क्रममा छ । जनकपुरको मेसिनले पहिलो लटमा २५ जना र दोस्रो लटमा ४७ जनाको स्वाब परीक्षण गरिसकेको ल्याबले जनाएको छ । तर रिपोर्ट रिकन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने गरिएको सामाजिक विकास मन्त्रालयका सचिव राम प्रसाद घिमिरे बताउँनुभयो । ‘परीक्षण प्रकृया अन्तिम चरण छ, दुई दिनभित्रै जनकपुरस्थित पीसीआर मेसिनले पूर्ण क्षमता सहित स्वाब परीक्षण गर्छ,’ घिमिरेको भनाइ छ ।