कञ्चनपुरको पुर्नवास नगरपालिकाको स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि/स्वास्थ्य चौकी बन्द

२८ जेष्ठ २०७७, बुधबार १०:२८ प्रकाशित

महेन्द्रनगर :

कञ्चनपुरको पुर्नवास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मंगलबारदेखि बन्द गरिएको छ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो।
कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए।
कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब संकलन भइरहेको छ।
संकलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ’, उनले भने, ‘नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन्।’
सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
कञ्चनपुरमा संक्रमितको संख्या ३२ पुगेको छ।

२८ जेष्ठ २०७७, बुधबार १०:२८  मा प्रकाशित

Write your Comment