प्रधानमन्त्री ओली नीकटका नेताहरु अध्यक्ष दाहाललाई भेट्न खुमलटारमा

१८ असार २०७७, बिहीबार १०:२२ प्रकाशित

नेकपा स्थायी कमिटी बैठक शुरु हुनु अगाडि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली निकटका स्थायी कमिटीका नेताहरु खुमलटार पुगेका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री निकट नेताहरु खुमलटार पुगेका हुन्।
८ बजे खुमलटार पुगेका नेताहरु अहिले अध्यक्ष दाहालसँग सम्वादमा छन्। अध्यक्ष दाहाललाई भेट्न स्थायी कमिटी सदस्यहरु ईश्वर पोखरेल, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल लगायत पुगेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र आर्थिक मामिला मन्त्री किरण गुरुङ बाहेक प्रधानमन्त्री निकट स्थायी कमिटीका नेताहरु खुमलटार पुगेका हुन्।
बुधबार साँझ झम्सिखेलमा दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल निकटको भेला भए पछि बिहानै प्रधानमन्त्री ओली निकट नेताहरु खुमलटार पुगेका हुन्। झम्सिखेल भेलाले ओलीले पार्टीले गर्ने निर्णय मान्नुपर्ने निष्कर्ष निकालेको छ।
बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरु सहित स्थायी कमिटीका नेताहरुलाई बोलाएका थिए। यसपछि दिनभर बालुवाटारमा आफू निकट नेताहरुसँग सम्वाद रहेका प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु आज बिहानै खुमलटार पुगेका छन्।
१० असार देखि जारी स्थायी कमिटी बैठक एघार बजे बालुवाटारमा शुरु हुँदैछ। त्यस अगाडि बरिष्ठ नेता नेपाल समूहका केही नेताहरु समेत कोटेश्वरमा भेला भएका छन्।
ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुपर्ने उनी इतर समूहले बैठकमा माग राखेका छन्।

१८ असार २०७७, बिहीबार १०:२२  मा प्रकाशित

Write your Comment