वीरगंजमा ९ महिने बालक सहित ३२ जनामा कोरोना पुष्टि,एम्बुलेन्सको अभाव

९ श्रावण २०७७, शुक्रबार ०९:३१ प्रकाशित

वीरगंज ९ श्रावण :
वीरगंजमा बिहीवार राती १० बजे सम्म ९ महिने बालकसहित ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा ७ जना महिला र २५ जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए।

संक्रमित हुनेमा ९ महिनादेखि ६० वर्ष उमेर समूहका रहेका छन्।ती मध्ये १५ वर्षमुनिका ४ जना र अधिकांश २० वर्षदेखि ३५ वर्ष उमेर समूहका रहेको उनले जानकारी दिए। संक्रमित हुनेमा पर्सा, बारा, सर्लाही र केही भारतीय नागरिक समेत रहेको बताइएको छ।

समुदाय तथा उद्योगमा काम गर्ने समेत संक्रमित भएका छन्। नारायणी अस्पताल अन्तर्गत रहेको पीसीआर ल्याबमा भएको परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो। दैनिक रुपमा संक्रमित बढ्ने क्रम देखिएसँगै अब वीरगंजमा संक्रमितको उपचार गर्ने स्थान नभएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोेजक डा उदयनारायण सिंहले जानकारी गराए।

बुधवार राति साढे १० बजे आएको रिपोर्टमा १७ जना मध्ये एक जना वृद्धको मृत्यु भइसकेको छ भने १६ जना मध्ये १५ जना आइसोलेसन वार्डमा रहेका छन्। पटेर्वासुगौली क्वारेन्टाइनका एक संक्रमितलाइ शुक्रवार ल्याउने भएको छ।

त्यसैगरी, बिहीवार राति पुष्टि भएका ३२ जना ल्याउँदा गण्डक अस्थायी कोभिड अस्पतालमा संक्रमितको संख्या ७७ पुग्छ। जबकी गण्डक अस्पतालको क्षमता ५० बेडको मात्रै भएकोले तत्कालै वैकल्पिक अस्पतालको व्यवस्थापन हुन पर्नेमा चिकित्सकहरुको जोड छ।

बुधवारसम्मको रिपोर्ट अनुसार उपचार गराइरहेका संक्रमितमध्ये ४० जनामा कोरोनाको लक्षण देखिएकोले अवस्था चिन्ताजनक रहेको बताइएको छ। संक्रमितहरुमा सय डिग्री भन्दा बढि ज्वरो आउने, टाउको दुख्ने, सुख्खा खोकी, श्वासप्रश्वासमा समस्या तथा झाडापखालाको लक्षण देखिएको छ।

संक्रमित बढिरहेको अवस्थामा संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकायसँग उचित सहकार्य नगरेका कारण संक्रमितको उपचार तथा व्यवस्थापनमा समस्या आइरहेको छ। बुधवार भेटिएका १६ संक्रमितलाई आइसोलेसन वार्ड पुर्‍याउन २४ घण्टा बढी समय लागेकोले तत्कालै आवश्यक एम्बुलेन्सको व्यवस्था मिलाउनु पर्ने आवश्यकता देखिएको छ।

संक्रमित ओसार्ने एम्बुलेन्स नहुँदा बिहीवार ३/४ जना संक्रमितहरु निजी मोटरसाइकलबाट आइसोलेसन वार्ड भएको गण्डक अस्पतालमा पुग्नु दुःखद भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्यय निरीक्षक जयमोद ठाकुरले बताए।

९ श्रावण २०७७, शुक्रबार ०९:३१  मा प्रकाशित

Write your Comment