जितपुरसिमरा गोल्डकप : सेमिफाइनल समिकरण पुरा/आज आयोजक सिमरा Vs अफ्रिकन रुट्स एसोसियसन,क्यामरुन

८ बैशाख २०७८, बुधबार ०९:०० प्रकाशित

सिमरा ८ बैशाख :
सिमरा रंगशालामा जारी बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपमा मंगलबार भएको खेलमा संकटा क्लब , काठमाडौँ विजयी भएको छ । विजय युथ क्लब, हेटौडालाई २-१ गोल अन्तरले पराजित गर्दै संकटा क्लब प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । संकटा सेमिफाइनल प्रवेश गरे संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।
संकटाका लागि जोन ग्लोरी र गणेश हमालले समान एक एक गोल गरे भने हेटौडाका लागि फुफनाले एक गोल गरे।
खेलको नवौं मिनटमै जोन ग्लोरीको गोलबाट संकटाले खेलमा अग्रता बनाएको थियो । सुभास गुरुङको क्रस बललाई उनले हेडमार्फत गोलमा परिणत गर्दै टिमलाई १-० को अग्रता दिलाएका थिए। खेलको ३९ औ मिनेटमा फुफुनाले गोल गर्दै हेटौडालाई बराबरीमा ल्याए। डिबक्स भित्र पाएको बललाई उत्कृष्ट प्रहार गर्दै उनले बललाई जाली चुमाउन सफल भए। १-१ को बराबरी भए पछी ए डिभिजन क्लब संकटालाइ खेलमा फर्कन ठुलै संघर्ष गर्नुपर्यो।
खेलको ८४ औ मिनेटमा संकटाले निर्णायक गोल गर्दै अन्तिम चारमा आफ्नो नाम सुनिश्चित गर्यो। प्रकाश बुढाथोकीको क्रसमा गणेश हमालले गोल गर्दै संकटालाई २-१ गोल अन्तरले बिजयी बनाए।
तुलनात्मक रुपमा बलियो मानिएको संकटाका बिरुद्द हेटौडाले निकै उत्कृष्ट खेल खेलेको थियो। फिनिसंग लाइनमा भने कमजोर बन्न पुग्दा हेटौडा क्वाटरफाइनलबाट नै बाहिरिन पर्यो।
३६ औ मिनेटमा संकटाका रोहन लिम्बुले हेटौडाका फुफुनालाई फल गरे पछी फुफुनाले नै प्रहार गरेको फ्रिकिक क्रसबारको केहि माथिबाट बाहिरियो। ४२ औ मिनेटमा सन्त बहादुर गुरुङको पासमा बिकास लामाले गरेका प्रहार संकटाका गोल रक्षकले बचाए।
खेलको ७० औ मिनेटमा हेटौडाका सन्त बहादुर गुरुङले संकटाका रक्षापंक्तिलाई बिट गर्दै अगाडी लागेको बललाई सहि दिशा दिन नसक्दा गोल गर्ने अवसरबाट चुके। खेलको ७९ औ मिनेटमा नमराज गुरुङले वान भर्सेस वानको स्थितिमा गोल गर्न सकेनन्। उनको फितलो प्रहार गोल पोस्ट नजिकैबाट बाहिरियो।
दोस्रो हाफको इन्जुरी समयको अन्तिमतिर केहि अवसर बनाए पनि गोल गर्न नसक्दा प्रतियोगिताको सातौ संस्करणको बिजेता विजय युथ क्लब, हेटौडा प्रतियोगिताबाट नै बाहिरिएको छ । जित संगै आठौ संस्करणको बिजेता संकटा क्लब विश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । संकटा क्लबले बैशाख ९ गते हुने दोस्रो सेमिफाइनल खेलमा एपीएफ फुटबल क्लब काठमाडौँसंग प्रतिस्प्रधा गर्नेछ।
खेल को म्यान अफ दि म्याच संकटाका गोलरक्षक राजाबाबु थापा घोषित भए । उनले पाच हजार नगद र ट्रफि प्राप्त गरे ।
चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।

आयोजक सिमरा Vs अफ्रिकन रुट्स एसोसियसन , क्यामरुन आज

आज आयोजक सिमरा Vs अफ्रिकन रुट्स एसोसियसन , क्यामरुन
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक नव जन जागृती युवा क्लब, सिमरा र अफ्रिकन रुट्स एसोसियसन , क्यामरुनबीच खेल हुनेछ। आयोजक नव जन जागृती युवा क्लब सिमराले क्वाटरफाइनलमा हिमालयन शेर्पा क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको थियो भने अफ्रिकन रुट्स एसोसियसन, क्यामरुनले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुनिश्चित गरेको थियो। सेमीफाइनल खेल बेलुका ५ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ । आयोजक सिमरा प्रतियोगिताको पाचौ संस्करणको बिजेता हो भने अफ्रिकन रुट्स पहिलो पटक प्रतियोगितामा सहभागी भएको हो। खेलको टिकट दर रु. १०० कायम गरिएको आयोजकले जनाएको छ । बढ्दो कोरोना भाइरसको जोखिमका कारण आयोजकले खेल हेर्न जाने दर्शक तथा आमन्त्रित अतिथिलाई अनिवार्यरुपमा मास्कको प्रयोग गर्न अनुरोध गरेको छ। आयोजकले बिभिन्न संस्थाको सहकार्यमा दर्शकका लागि नि:शुल्क मास्कको व्यवस्था गरेको छ ।

८ बैशाख २०७८, बुधबार ०९:००  मा प्रकाशित

Write your Comment