पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ ।
उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम’ परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लान्ट र गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका उपरीक्षक प्रकाश मल्लले बताए ।
बिहान ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास गरिरहेका छन् ।
आगो निभाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीसहित स्थानीयहरू पनि खटिएका प्रहरी उपरीक्षक मल्लले बताए । गोदामको ठूलो भवनलाई भत्काएर आगो निभाउने प्रयास भइरहेको छ ।
आगो निभाउन प्रयास भइरहेकाले क्षतिको विवरण आउन नसकेको प्रहरीले जनाएको छ । गोदामभित्र रहेका सबै बियर नष्ट भएकाले करोडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत् सर्टका कारण भएको बताइएको छ ।