मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यादव बर्खास्त

२०७८ अषाढ २२, मंगलबार प्रकाशित

रकमको लेनदेमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ ।

परीक्षामा भएको अनियमितताका विषयमा छानबिन गर्न गठित समितिले यादवलाई दोषी देखाएपछि सेवाबाट बर्खास्त गरिएको उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले जानकारी दिए । उपकुलपति सिंहले भने, ‘अक्षम्य शैक्षिक अपराध गरेकाले सेवाबाट बर्खास्त गरीएको हो ।
विद्यार्थीको आन्तरिक मूल्यांकनतर्फ विषय शिक्षकले पठाएको नम्बर लुकाएर यादवले मनलाग्दी रुपमा नम्बर दिएको उजुरी विद्यार्थीहरुबाट परेको थियो । त्यस विषयमा छानविन गर्न दीपबहादुर रावलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । समितिले अक्षम्य अपराध गरेकाले विभागीय कारबाही गर्न सिफारिस गरेको थियो ।

मध्यपश्चिम विश्वविद्यालयमा कन्सट्रक्सन म्यानेजमेन्ट र स्ट्रक्चरल इन्जिनियरिङ विषय पढाइ हुने गर्दछ । स्ट्रकचरल इन्जिनियरिङ विषयको अन्तिम परीक्षाको प्रयोगात्मकमा आफूखुसी नम्बर दिएको पाइएको हो । प्रयोगात्मक परीक्षा ४० नम्बरको हुन्छ । सो परीक्षामा १३ जना विद्यार्थीहरुलाई ४० मा ४० नम्बर दिएको पाइएको छ । यसैगरी स्ट्रक्चरल इन्जिनियरिङका चार वटै विषयमा विद्यार्थीहरुलाई ३४ देखि ३७ नम्बरको दरले समान नम्बर दिइएको छ ।

परीक्षामा अनियमितता गरेको भनेर गल्तीसमेत स्वीकारेकाले कारबाही गरिएको उपकुलपति सिंह बताउँछन् । उनले भने, ‘मबाट गल्ती भयो, माफ पाउँ भनेका छन्, तर मैले माफ दिन सक्दिनँ । विश्वविद्यालय सुधार गर्न आएको हुँ, सुधार गरेरै छाड्छु ।’ उनले यस विषयमा आज पत्रकार सम्मेलन गरेर जानकारी दिने पनि दिए ।

Write your Comment