उत्तर प्रदेशमा बसलाई ट्रेलरले ठक्कर दिँदा १८ जनाको मृत्यु

२०७८ श्रावण १३, बुधबार प्रकाशित

उत्तर प्रदेशको बाराबंकीस्थित लखनउ–अयोध्या राजमार्गको सडक छेउ रोकिएको डबल डेकर बसलाई तीव्र गतिमा आएको ट्रेलरले ठक्कर दिएको छ । मंगलबार राति भएको यो दुर्घटनामा १८ जना यात्रुको मृत्यु भएको छ भने २३ जनाभन्दा बढी घाइते भएका छन् । यसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई लखनऊस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ । बस हरियाणाबाट बिहार गइरहेको थियो ।
दुर्घटना बराबंकीको रामसनेही घाट थाना क्षेत्रमा भएको थियो । बसमा १५० जना यात्रु सवार थिए । बाटोमा बिग्रिएको अर्को बसको यात्रुमा पनि सो बसमा चढेको बताइएको छ । ओभरलोड भएपछि बसको एक्सल भाँचिएको थियो । मर्मतका लागि ड्राइभरले बसलाई राजमार्गमा कल्याणी नदीको पुलमा रोकेका थिए । रातिको समय भएका कारण यात्रुहरू कोही बसमा त कोही बसको तल र छेउमा सुतेका थिए । राति साढे ११ बजे लखनऊबाट तीव्र गतिमा आएको ट्रेलरले बसलाई ठक्कर दियो ।
घटनापछि ट्रेलरका ड्राइभर घटनास्थलबाट फरार भएका थिए । दुर्घटनाका कारण राजमार्गमा ५ किलोमिटर लामो जाम भएको थियो । बसमा सवार यात्रुहरू बिहारको सीतामढी, सुपौलसहित अलग–अलग जिल्लाका रहेका थिए । उनीहरू सबै मजदुर रहेको र धानको रोपाइँका लागि आफ्नो गाउँ फर्किरहेको बताइएको छ ।

Write your Comment