समाजसेवामा समर्पित छन- मनोज साह

१४ आश्विन २०७८, बिहीबार १४:२६ प्रकाशित

गौरवशाली अनेकौं क्षणहरुमा प्रत्यक्ष सहभागी भई सामाजिक विकास-निर्माणका कार्यहरुमा तथा युवा, महिला, वृद्धवृद्धा आदि सबैको हक अधिकारका लागि अहोरात्र खटिरहने युवा नेताको पहिचान बोकेका मनोज साहले आफ्नो सकृय सामाजिक क्रियाकलापद्वारा सम्पूर्ण जीतपुरवासीको साथै जिल्लावासीकै मन जित्न सफल बनेका छन् ।

वि.सं. २०४३ मा जन्मेका मनोज साहले आफुलाई विद्यार्थीकालमै सामाजिक कार्यहरूमा सकृय बनाएका थिए । थोरै समयमा शिक्षा, स्वास्थ्य, समाजसुधार, खेलकुद जस्ता क्षेत्रमा परिवर्तनकारी कदम उठाउँदै साहले जीतपुरलाई चारैतर्फ चर्चित बनाए । वि.सं. २०६४ तिर मधेशी जनताको हक अधिकार प्रत्याभूतिका लागि मधेशी दलहरुद्वारा आह्वान गरिएको मधेश आन्दोलनमा मधेश र मधेशी जनताको हक अधिकार प्राप्तिका लागि उनी पनि सोही आन्दोलनमा होमिएका थिए । त्यस क्रममा उनलाई प्रहरीले चलाएको गोली पनि लागेको थियो । आन्दोलनका क्रममा गोली लागेर जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेका बेला साहलाई प्रेम गर्ने जीतपुरवासीहरुकै माया, प्रार्थना एवम् आशीर्वादले उनलाई दोस्रो पटक नयाँ जीवन प्राप्त भएको थियो । उनी जनताको आशीर्वाद र प्रार्थनाबाट प्राप्त भएको आफ्नो नयाँ जीवनलाई जनताकै सेवामा समर्पित गरी ऋण चुक्ता गर्न चाहन्छन् ।

उनी स्वयमले आफ्नै पहल एवम् कर्मद्वारा अनेकौं समाज सुधारका कार्यहरु सम्पन्न गरी समाजको विकासमा ठूलो योगदान दिएका छन् । जीतपुर युवा क्लबका संस्थापक अध्यक्ष समेत रहेका साहकै पहलमा रगत अभाव हुन नदिन वर्षौंदेखि जीतपुरमा समय समयमा रक्तदान कार्यक्रमको आयोजना गरिंदै आएको छ । वि.सं. २०६९ मा उनकै नेतृत्वमा जीतपुरमा महिला हिंसा विरुद्ध र्याली निकालिएको थियो । यसैगरी उनकै पहलमा ट्राफिक सम्बन्धी चेतना वृद्धिका लागि दुई हप्ते ट्राफिक जनचेतना अभियान पनि जीतपुरमा सन्चालन गरिएको थियो । आफुले जीतपुर युवा क्लबको अध्यक्षको पद सम्हालेको अवस्थामै उनले वि.सं. २०६९ मा जीतपुरका ७ ओटा टोलहरुमा २५ ओटा बत्ती जडान गरी गाउँटोललाई उज्यालो पारेका थिए । उनको यस कार्यबाट टोलवासीहरु निकै हर्षित भएका थिए ।

बारा जिल्लाकै आर्थिक राजधानी मानिने जीतपुर नगरीलाई सफा र सुन्दर नगरीको रुपमा विकसित गर्नुपर्ने उनको धारणा रहेको छ । यस क्रममा जीतपुरलाई स्वच्छ र सफा राख्न उनले वर्षौंदेखि सरसफाई अभियान चलाउँदै आएका छन् । नयाँ वर्ष, दशैं, तिहार, छठ पर्व होस् या अन्य अवसर होस् उनले बेलाबेलामा सरसफाइ कार्यक्रम आयोजना गरी सभ्य नागरिकको पहिचान दिएका छन् । उनकै सक्रिय सहभागितामा वर्षौंदेखि विभिन्न गाउँटोल सरसफाइ गरिनुको साथै वि. सं. २०६९ मा पर्साको चोर्नी गाविस वार्ड नं. ८ स्थित टेढामा मुस्लिम समुदायद्वारा तीन दिनका लागि आयोजना गरिएको मुल्की ईस्तमाको बेला मनोज साहकै नेतृत्वमा जीतपुरदेखि ईस्तमा स्थलसम्म सरसफाई गरिएको थियो । यसैगरी वि. सं. २०६९ तिर जीतपुरबजारको नालाहरु फोहरले भरिएर निकास रोकिएको अवस्थामा साहकै पहलमा जीतपुर युवा विकास समितिको गठन गरी जीतपुर बजारस्थित सडकको दुवैतर्फको नाला तथा पसलेहरुद्वारा अतिक्रमण गरिएको सडक पेटीको समेत सरसफाइ गरिएको थियो ।

अन्याय, भेदभाव, थिचोमिचो सहनै नसक्ने क्रान्तिकारी युवा मनोज साहले समाजमा हुने सबैजसो गलत क्रियाकलापविरुद्ध खुलेरै विरोध गर्ने गरेका छन् । आर्थिक वर्ष ०५५/५६ मा बाराको आदर्श भवानीपुर जीतपुर गाविसको बकुलियामा जीतपुर खानेपानी आयोजना अन्तर्गत खानेपानी ट्याङ्कीको निर्माण कार्य सुरु गरी सम्पन्न भएपनि कयौं वर्षसम्म खानेपानी वितरण कार्य सन्चालन नहुँदा वि.सं. २०७० मा जनताको शुद्ध खानेपानी पिउने अधिकारको लागि खानेपानी वितरण कार्य सन्चालनको माग राख्दा मनोज साहलाई प्रहरीद्वारा पक्राउ गरिएको थियो । उनी पक्राउ पर्दा पनि गलत कार्यको विरोध गर्न डराएनन् । यसैगरी तत्कालीन आदर्श भवानीपुर जीतपुर गाविसले पहिलोपटक किनेको एम्बुलेन्सको मर्मतसम्भार गर्ने बहानामा तत्कालीन जनप्रतिनिधिहरुले भारतको रक्सौलमा लगी अलपत्र अवस्थामा छाडेका थिए । एम्बुलेन्सको अभावमा सर्वसाधारण जनताले दु:ख कष्ट सहनुपरेको देखेर सो एम्बुलेन्स यथाशीघ्र मर्मतसम्भार गरी ल्यानुपर्ने कुराको साहले माग राख्दा प्रहरीद्वारा उनलाई पक्राउ गर्न लगाइएको थियो । सामाजिक न्याय, जनाधिकार र जनहितका लागि आवाज उठाउँदा उनलाई पटकपटक पक्राउ गरियो, धम्की दिइयो तर पनि उनी आत्तिएनन् , डराएनन् । आफ्नो मनोबललाई दृढ बनाउँदै सत्यको पक्षमा लागिरहे ।

समग्र जीतपुरलाई देशैभर चिनाउनका लागि मनोज साहकै पहलमा वि.सं. २०७३ मा पहिलो पटक वृहत् जीतपुर खेलकुद तथा मेला महोत्सवको आयोजना गरिएको थियो । यसैगरी जीतपुर तथा जीतपुरवासीहरुको पहिचान बढाउनका लागि र जीतपुरलाई पनि खेलकुद क्षेत्रमा अगाडि बढाउने उद्देश्यले मनोज साहले वि.सं. २०६५ मा प्रथम पटक जीतपुर गोल्ड कपको आयोजना गरेका थिए । यस लगत्तै उनले वि.सं. २०६७ मा जीतपुर गोल्ड कपको दोस्रो संस्करण समेत आयोजना गरेका थिए । उनको यो कदमले जीतपुरको चर्चा चारैतिर चुलिएको थियो । नेपाल बुद्धिचाल संघ प्रदेश नम्बर २ को सदस्यसमेत रहेका साहले वि.सं. २०६७ मा बारा जिल्लास्तरीय तथा वि.सं. २०६८ मा नारायणी अञ्चलस्तरीय बुद्धिचाल प्रतियोगिताको आयोजना गरेका थिए । नेपाल सितोरियो कराँते शाखा डोजो जीतपुरको सह प्रशिक्षक समेत रहेका मनोज साहले यस क्षेत्रमा खेलकुदको विकासको लागि समयसमयमा विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै आएका छन् । उनको महत्त्वपूर्ण प्रयासले यस क्षेत्रमा नयाँ युवा प्रतिभाको खोजी गर्न तथा खेलकुद क्षेत्रमै आफ्नो भविष्य बनाउन चाहनेहरुको लागि ठूलो मदत पुगेको छ ।

समाजसेवालाई पहिलो प्रार्थमिकतामा राखेका युवा साहले सर्वसाधारण जनताको हक अधिकारका लागि सम्बन्धित निकाय समक्ष पुगेर खबरदारी गर्ने कार्य गर्न कहिल्यै पछि पर्दैनन् । उनी निमुखा जनताको हक अधिकारको लागि आवाज उठाएर गरिब, असहाय जनताको आँट र हिम्मत बन्ने गरेका छन् । वि.सं. २०६९ मा एक पक्षले जीतपुरमा रहेको सार्वजनिक शौचालयमा तालाबन्दी गर्दा विभिन्न स्थानबाट जीतपुर बजारमा किनबेच गर्न आउने सेवाग्राहीलाई असुविधा भएको थियो । त्यसबेला सो समस्याको समाधानका लागि कसैले चासो लिएका थिएनन् । त्यो बेला सम्बन्धित निकाय समेत कानमा तेल हालेर चुपचाप बसेको अवस्थामा स्थानीय वासिन्दा तथा बजारमा किनमेल गर्न आउने ग्राहकहरुले सास्ती खेप्नुपरेको देखेर युवा नेता मनोज साह पुन: दु:खी भए । त्यसबेला उनले आफनै नेतृत्वमा प्रहरीको उपस्थितिमा शौचालयको ताला तोडी सर्वसाधारणलाई सहजता प्रदान गरेका थिए । एकताका उनकै नेतृत्वमा जीतपुरका युवावर्गले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गर्दै चक्काजाम समेत गरेका थिए । तत्कालीन आदर्श भवानीपुर जीतपुर गाविस वडा नं. ५ स्थित रहेको ऐलानी जग्गामा जीतपुर रंगशाला बनाइदिन साहले नै सम्बन्धित निकायसमक्ष पहल गरेका थिए, त्यसै ठाउँमा अहिले ग्रीन पार्क निर्माणाधीन अवस्थामा छ । सर्वसाधारण जनताको स्वास्थ्यस्थितिको ख्याल गरी जीतपुर युवा पतन्जली योग समितिको अध्यक्ष पद सम्हाल्दै मनोज साहले वि.सं. २०६९ मा योगऋषि रामदेव बाबाको पाँच दिवसीय योग शिविर सन्चालन गरेका थिए । जीतपुरवासी लगायत सम्पूर्ण बारा जिल्लावासीकै जीवनस्तर उकास्न तथा सम्पूर्ण जनताको हकहित एवम् भलाइका लागि आफ्नो सम्पूर्ण जीवन समाजसेवामै समर्पित गर्नमा मनोज साह कटिबद्ध रहेको कुरा उनलाई नजिकैबाट चिन्नेहरुले बताउँछन् ।

इमान्दारिता, लगनशील, मिलनसार, मृदुभाषी एवम् आकर्षक व्यक्तित्वका धनी युवा नेता एवम् समाजसेवी मनोज साह समाजका बुद्धिजीवी, व्यवसायी, श्रमिक-मजदुर, महिला, पुरुष, विद्यार्थी लगायत सबै वर्गका बीच निकै चर्चित छन् । जीतपुरवासीहरुले उनको कार्य तथा योगदानको भित्री हृदयदेखि प्रशंसा गर्दछन् । यस क्षेत्रमा उनी शिक्षाप्रेमी युवाका रुपमा पनि चिनिन्छ्न् । उनले यस क्षेत्रको शिक्षा एवम् खेलकुदको विकासको लागि दिएको योगदान अविस्मरणीय छ । जीतपुरमा अवस्थित श्री फकिरा गिरी राजेश्वर गिरी मा वि मा खेलकुद शिक्षकको रुपमा समेत कार्य गरी उनले बालबालिकाको चौतर्फी विकासमा मदत पुर्याएका छन् । विगत ९ वर्षदेखि जीतपुरस्थित दलित बस्तीका बालबालिकाहरुलाई नि:शुल्क टिउसन पढाउँदै आएका मनोज साह सो दलित बस्तीका बालबालिकाको भविष्य उज्ज्वल बनाउने महान् कार्यमा लागिपरेका छन् । समाजका प्रत्येक बालबालिकालाई सकारात्मक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न सके मात्रै भोलिको हाम्रो समाज विकासको बाटोमा अग्रसर हुन सक्छ भन्ने उत्तम विचार राख्ने साहले वि.सं. २०७० मा आफ्नै पहलमा जीतपुरस्थित फकिरा गिरी राजेश्वर गिरी मा. वि. मा अध्ययनरत १० जना विद्यार्थीहरुलाई ( दुई ) वर्षको निम्ति पुर्ण छात्रवृत्ति सहित आवश्यक शैक्षिक सामग्री तथा पोशाकसमेत उपलब्ध गराएका थिए ।

बारा जिल्लाकै आर्थिक एवम् व्यापारिक नगरीको रूपमा जीतपुर चर्चित रहेपनि दुरदर्शी सोचको अभावका कारण यहाँको सर्वाङ्गीण विकास हुन नसकेको उनी बताउँछन् । सर्वसाधारण जनताको भलाइका लागि असल मनसायले गरिने प्रत्येक कार्य सदैव फलदायी हुने कुरामा उनी विश्वस्त छन् । यहाँका सर्वसाधारण जनता, बुद्धिजीवी, व्यवसायी, श्रमिक मजदुर, युवावर्ग आदि सबैको साथ र सहयोग निरन्तर प्राप्त भए यहाँका जनताका सुख सुविधा एवम् हकहितका लागि अरु थुप्रै कार्यहरु गर्ने योजनामा आफू रहेको उनी बताउँछन् ।

१४ आश्विन २०७८, बिहीबार १४:२६  मा प्रकाशित

Write your Comment