वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी आयोग

७ पुष २०७८, बुधबार १९:३५ प्रकाशित

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।
निर्वाचन आयोगले धुलिखेलमा आजदेखि सुरु भएको दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी महिला पत्रकारसँगको कार्यशाला गोष्ठी’मा थपलियाले यस्तो बताउनुभएको हो ।
स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्न आयोग गम्भीर रहेको उहाले बताउनुभयो ।

छिट्टै नै स्थानीय तहको निर्वाचनको मिति तय गर्नका निम्ति सरकार समक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाको भनाइ छ । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि निर्वाचनलाई स्वच्छ,, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले अब आउने निर्वाचन लैङ्गिक एवं समावेशी दृष्टिकोणले उपयुक्त हुने समेत बताउनुभयो ।

७ पुष २०७८, बुधबार १९:३५  मा प्रकाशित

Write your Comment