जीतपुरसिमराः कस्ले जित्ला नगर प्रमुख ?

२१ बैशाख २०७९, बुधबार १०:३४ प्रकाशित

सिमरा, २१ बैशाख।
स्थानीय तह सदस्य निर्वाचन – २०७९ नजिकिदै जादा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त बनेका छन् । बाराका अन्य पालिका भन्दा सुबिधा सम्पन्न मानिएको जीतपुरसिमरा उपमहानगरको नेतृत्व लिन यति खेर नेकपा एमालेको तर्फबाट सरस्वती चौधरी, गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका राजन पौडेल र लोकतान्त्रिक समाजबादी पार्टीका तर्फबाट संजय कुमार साह चुनावी मैदानमा छन् । जिल्लामा जीतपुरसिमरा उपमहानगरलाई सबै राजनैतिक दलहरुले प्रतिष्ठाको बिषय समेत बनाउने गर्दछन् ।
सरस्वती चौधरी नेकपा एमालेको तर्फबाट अघिल्लो निर्वाचनमा नगर – उप प्रमुख पदमा बिजयी भएकी थिइन् । उप – प्रमुखको रुपमा अनुभव हासिल गरका उनलाई यतिखेर एमालेले नगर प्रमुखको टिकट प्रदान गरको छ । जीतपुरसिमराको राजनीतिमा चिरपरिचित नेपाली कांग्रेसका निरु रायामाझी र माओबादी केन्द्रका गायत्री चौधरीलाई पराजित गर्दै उनले जीतपुरसिमराको नगर उप – प्रमुखमा आफ्नो सिट सुनिश्चित गरेकि थिइन् । सोहि निर्वाचनमा नेकपा एमालेका डा. कृष्ण पौडेल नगर प्रमुख पदमा बिजयी भएका थिए । अघिल्लो निर्वाचनमा जम्मा ७ वटा वडा मात्र जितेको एमालेसंग कार्यपालिकामा १३ सदस्य थिए । उपमहानगरमा थारु समुदायको बाहुल्यता रहेका कारण पनि उनलाई जित्नमा थप सहज हुने आकलन नगरभित्र हुन थालेको छ ।
राजन पौडेल अघिल्लो निर्वाचनमा नगर प्रमुख पद मै पराजित उमेदवार हुन् । उनी नेकपा एमालेका डा. कृष्ण प्रसाद पौडेल र नेपाली कांग्रेसका कृष्णव्रत सिंह संग पराजित हुदै तेस्रो स्थान हासिल गरेका थिए । यद्यपी उक्त निर्वाचनमा माओबादी केन्द्र १० वटा वडामा बिजयी भएको थियो । गठबन्धनले यति खेर नगर प्रमुख र उप प्रमुख पदका लागि साझा उमेदवार तय गरे पनि वडा तहमा एक आपसमा प्रतिस्प्रधा गर्दै छन् । नेतृत्व तहमा भएको गठबन्धनलाई आम कार्यकर्ता तथा मतदाताले समर्थन गर्ने वा नगर्ने भन्ने बिषय र टिकट वितरणको समयमा देखिएको माओबादी केन्द्र भित्र कै आन्तरिक किचलो यति खेर गठबन्धन भित्र पेचिलो बनेको छ ।
संजय कुमार साह जीतपुरसिमरामा परिचित अनुहार हुन् । उनी जीतपुरका प्रतिष्ठित युवा उद्योगी हुन् । जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघको नेतृत्व समेत सम्हाली सकेका साहसंग सहकारी क्षेत्रको अनुभव समेत छ । उनी यति खेर आम मतदाताको घर दैलोमा पुगी रहेका छन् । तथापी बलियो मानिएका एमाले र गठबन्धनका उमेदवार उनको टाउको दुखाइको बिषय बन्न सक्छन् ।

२१ बैशाख २०७९, बुधबार १०:३४  मा प्रकाशित

Write your Comment