राष्ट्रिय झण्डा सहित जीतपुरसिमरा – २ मा एमालेको घरदैलो

२१ बैशाख २०७९, बुधबार ११:४४ प्रकाशित

२१ बैशाख , सिमरा।
स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै नेकपा एमाले जीतपुरसिमरा – २ ले चुनावी अभियानको क्रममा घरदैलोलाई तिब्रता दिएको छ। घरदैलो अभियानको क्रममा नेकपा एमालेले आफ्नो चुनाव चिन्ह सूर्य अंकित झण्डाका अतिरिक्त राष्ट्रिय झण्डाको समेत प्रयोग गरेको थियो, यस्को अहिले चौतर्फी प्रशंशा भइरहेको छ । राष्ट्रिय झण्डा सहित घरदैलोमा एमालेलाई देख्दा आफुहरु उत्साहित भएको वडाबासीले बताए। राष्ट्रिय झण्डाको प्रयोग गर्नु सामान्य बिषय भए पनि राप्रपाबाहेकका अन्य राजनैतिक दलले चुनावी प्रचारमा यसको खासै प्रयोग नगरेकाका कारण मतदाताले बिशेष रुपमा बुझेको हुन सक्ने जीतपुरसिमरा –२ का स्थानीयको बुझाइ छ।यति खेर एमाले नगरका अतिरिक्त आफ्नो वडाको छुट्टै प्रतिबद्दता पत्र बनाएर चुनावी मैदानमा होमिएको छ। जीतपुरसिमरा  –२ को प्रतिबद्दता पत्रमा एमालेले भ्रष्टाचार मुक्त , समुन्नत र समृद्द वडा निर्माण आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएको छ। यस्तै शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद र बिकास निर्माणलाई एमालेले प्रमुख एजेन्डा बनाएको छ ।

आज सिर्जना टोलबाट सुरु गरिएको घरदैलोमा करिब २५० भन्दा बढी वडाबासी सहभागी भएको एमाले जीतपुरसिमरा २ का अध्यक्ष रबिन्द्र खकुरेलले जानकारी दिनु भयो। घरदैलो अभियान मार्फत प्रत्येक वडा बासिको घरदैलोमै पुगेर मत माग्दा वडामा रहेका समस्या र मतदाताको आवश्यकता बुझ्न अझ सजिलो भएको वडा अध्यक्षका उमेदवार धन बहादुर श्रेष्ठले बताउनुभयो । २०७४ मा वडा नं २ को वडा सदस्यमा निर्वाचित भएर आफुले सकेको वडा बासिको सेवा गरेका कारण मतदाताको सकारात्मक प्रतिक्रिया पाएको र यसबाट आफू जित्नेमा ढुक्क रहेको समेत श्रेष्ठले बताउनुभयो । घरदैलो अभियानमा वडा अध्यक्ष उमेदवार श्रेष्ठ सहित,वडा सदस्यहरू उद्धव प्रसाद गौतम ,बिशाल प्रसाद घिमिरे, मिरा देवी ढकाल, लक्ष्मी बिश्वकर्मा लगायत वडा कमिटी ,पार्टि सदस्य,शुभचिन्तक, स्थानीयको सहभागीता रहेको छ । कुल ५१५१ मतदाता रहेको वडा नं २ मा एमाले सहित,काङ्ग्रेस,माओवादी,लोसपा, र राप्रपाले उमेदवारी दिएका छन् ।

२१ बैशाख २०७९, बुधबार ११:४४  मा प्रकाशित

Write your Comment