निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु राणालाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।
कैलालीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए ।
सोहि उजुरीको आधारमा राणालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
‘यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ,छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ‚ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ‚’ आयोगले पठाएको पत्रमा भनिएको छ ।