बारा– ४ दुई पूर्वमन्त्रीको रोचक भिडन्त: कस्ले मार्ला बाजी? यस्तो छ अंकगणित

३१ आश्विन २०७९, सोमबार ०९:१८ प्रकाशित

                                                         बारा – ४ मा यति खेर चुनावी माहोल थप तातेको छ। चुनावको मिति नजिकिदै जादा चोक चोकमा यसका चर्चा समेत बढ्दै गएको छ। बारा क्षेत्र नम्बर ४ का लागि प्रतिनिधि सभा सदस्य उमेदवारका रुपमा नेकपा एमालेका तर्फबाट यस क्षेत्रकै निवर्तमान सांसद एवम् पूर्व युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले जसपा समेतको समर्थनमा उमेदवारी दर्ता गराउदा पाच दलिय गठवन्धनका तर्फबाट एकीकृत समाजबादीका किसान श्रेष्ठले उमेदवारी दर्ता गराएका छन्। गत निर्वाचनमा तनहु १ बाट लडेका श्रेष्ठ यस पटक सिमरा आइ उमेदवारी दर्ता गराए पछि यहाको चुनाव थप रोचक बनेको हो।

एकवाल भर्सेज किसान
एकवाल मियाँ यस क्षेत्रका निवर्तमान सांसद हुन्। २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी, नेपालबाट चुनाव लडेका उनले नेकपा एमालेका देव नारायण थारुलाई पराजित गर्दै प्रतिनिधि सभामा आफ्नो सिट सुनिश्चित गरेका थिए। देव नारायण थारुले २०,६०७ मत प्राप्त गर्दा उनले २२,२७५ मत प्राप्त गरेका थिए।
तत्कालिन केपी ओली नेतृत्वको सरकारको युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका उनी यस अघि संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रही काम गरेका छन्। बारा– ४ को बिकासका लागि आफूले पछिल्लो ५ बर्षमा थुप्रै काम गरेको, केही कामहरु पुरा भएका र केही दीर्घकालिन महत्वका भएकाले जनताले यस पटक फेरी आफूलाई नै जनमत सुम्पिने उहाको भनाइ छ। कुशल योजनाकार तथा अध्येताका छवि बनाएका उनी यस क्षेत्रका मतदाताका लागी परिचित अनुहार हुन्।

अघिल्लो निर्वाचनमा तनहु – १ मा नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउदै चर्चामा आएका किसान श्रेष्ठ नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा पुर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुन्। यस पटक गठबन्धनबाट तनहु – १ मा रामचन्द्र पौडेल उमेदवार हुने भए पछि उनले बारा ४ मा आइ उमेदवारी दर्ता गराएका हुन्। आफू उमेदवार हुने भएपछि उनले सरकारमा सहभागि एकीकृत समाजबादीका मन्त्रीहरु ल्याई विभिन्न योजनाको शिलान्यास गराएका थिए तर कानुनी प्रक्रिया लत्याउदै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र टेण्डर प्रक्रिया पूरा नगरी योजना शिलान्यास गराएको भन्दै उनको चर्को आलोचना समेत भएको थियो।

 

कस्तो छ अंकगणित??

स्थानीय तह सदस्य निर्वाचन– २०७९ मा यस क्षेत्र भित्र पर्ने स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको मत परिणामको आधारमा हेर्ने हो भने यो क्षेत्रमा नेकपा एमाले पहिलो शक्तिको रुपमा रहेको छ भने नेकपा एकीकृत समाजवादी कमजोर देखिएको छ। एमालेका वडा अध्यक्षहरुले कुल २१,१६७ मत प्राप्त गर्दा एकीकृत समाजबादीका वडा अध्यक्ष पदका उमेदवारहरुले झन्डै चार गुणा कम मत (५०१९) प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसका वडा अध्यक्षहरुले प्राप्त गरेको मत १६,५८९ , माओबादी – ९०१२ , लोसपा – १५०५३ र जसपाका वडा अध्यक्षका उमेदवारले ५३०० मत प्राप्त गरेका छन्। पाँच दलिय गठबन्धनमा आबद्द दलका वडा अध्यक्षहरुले प्राप्त गरेको मत परिणामका आधारमा किसन श्रेष्ठलाई सहज देखिन्छ, तर बस्तुगत अवस्था भने केहि फरक छ।

स्थानीय तहको निर्वाचन पश्चात एकीकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर बि.क, अर्का सांसद सिता गरुङ्गसहित थुप्रै जिल्ला कमिटि सदस्यहरु लिएर एमाले मै फर्किएपछि एकीकृत समाजवादीको सांगठानिक अवस्था थप कमजोर हुन पुगको छ। बि.क एमालेमै फर्किएपछि समाजवादीका जनसंगठन सम्हालिएरहेका थुप्रै नेता कार्यकर्ता एमाले फर्कने तरखरमा छन्, यसले श्रेष्ठलाई जितका लागि थप असहज हुने निश्चितप्रायः देखिन्छ।
श्रेष्ठका लागि अर्को चुनौती भनेको यो क्षेत्रमै कांग्रेसले उम्मेदवार नपाउनु पनि हो । जनमतका हिसाबले ठुलो दलको रुपमा रहेको कांग्रेसले यो क्षेत्रमा कतैपनि उम्मेदवारी दिन पाएन । आफू प्रतिनिधिसभाको उम्मेदवार बन्दै गर्दा श्रेष्ठले कांग्रेसको जनमतलाई सम्मान गर्न बिर्सिए । उनले सन्तुलन मिलाउन सकेनन् । कांग्रेसलाई साथमा लिन्थे भने श्रेष्ठको चुनावी यात्रा केही सहज बन्न सक्थ्यो, जुन अब सम्भव देखिदैन् ।
कांग्रेसले उमेदवार नपाएपछि नेपाली कांग्रेसका अगुवा नेता इच्छा बहादुर वाग्लेले काङ्ग्रेस जोगाउनका लागि भन्दै दलबल सहित २३ गते निर्वाचन अधिकृतको कार्यालय, जीतपुर पुगी उमेदवारी दर्ता गराएका छन् , उनको उमेदवारीले समेत सत्ता गठबन्धनलाई थप हानी हुने देखिएको छ। स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै नगरप्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भईरहदा आफ्नो उम्मेदवार पराजित हुनुले पनि गठबन्धनमाथी कांग्रेसले विश्वास गर्न सकेको देखिदैन । लगातारको निर्वाचनमा पार्टीले अवसर प्राप्त गर्न नसकेपछि रुष्ट बनेका कांग्रेस कार्यकर्तालाई यतिबेला श्रेष्ठले फकाई रहेका छन्।
तनहु बाट बारा आइ चुनाव लड्न लागेका श्रेष्ठलाई चुनाव जित्न छोटो समयमा जनताको मन जित्नु पर्ने बाध्यता छ। तर सत्ता र शक्तिको आडमा स्वतन्त्र उमेदवारको उमेदवारी फिर्ता गराउन प्रहरी परिचालन, निर्वाचन आचार संहिता बिपरित चुनावी ब्यानरमुनी बैदेशिक रोजगारको अन्तर्वार्ता, डिपीआर बिनै योजनाको शिलान्यास जस्ता बिबादित कार्यहरुले उनलाई थप असहज देखिन्छ ।
यता एमालेका एकवाल मिया भने लोसपा हुदा आफ्नो शक्तिका रुपमा रहेका नेता कार्यकर्तालाई धमाधम एमाले प्रवेश गराई रहेका छन्। बारा- ४ मा आफुले गरेको बिकासका बारेमा संचार माध्यममा स्थानीयलाई प्रकाश पारि रहेका छन्। प्रचारलाई भन्दा कामलाई बढी प्राथमिकता दिने नेताको रुपमा उनलाई स्थानीयले चिन्ने स्थानीयको बुझाइ छ।
आ– आफ्नै चुनावी रणनीतिमा चुनावी मैदानमा होमिरहेका यी मध्ये कसले निर्वाचनमा बिजय प्राप्त गर्छन भन्नका लागि अब ३४ दिन कुर्न पर्ने हुन्छ।

बारा ४ मा उमेदवारी दिने सबै उमेदवारलाई विजयको शुभकामना ।

३१ आश्विन २०७९, सोमबार ०९:१८  मा प्रकाशित

Write your Comment