सिमरा, २१ कार्तिक
नेकपा एमाले बारा क्षेत्र नम्बर ४ (क) का अगुवा युवा कार्यकर्ता भेला सिमरा स्थित जिफन्ट भवनमा सम्पन्न भएको छ। नेकपा एमाले केन्द्रिय सदस्य सरस्वती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा बारा क्षेत्र नम्बर ४ (क) का प्रदेश सभा सदस्य उमेदवार देवनारायण चौधरी, मधेश प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर बि.क, सिता गुरुङ, एमाले बारा ४ (क) का इन्चार्ज दिनेश्वर ठाकुर, समानुपातिक उमेदवार मंजु थापा, कमलेश झा , एमाले बारा ४(क) का प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल, युवा संघका केन्द्रिय सदस्य भावना आचार्य लगाएतकाको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान प्रदेश सभा सांसद सुन्दर बि.क ले पार्टीका योजना, कार्यक्रम, प्रतिबद्दतालाई जनता समक्ष पुराउन, मतदाता शिक्षा लगाएतका कार्यमा युवाहरुको भूमिका महत्वपुर्ण हुने बताउदै एमालेका सुर्य ध्वजाबाहक उमेदवारहरुलाई विजयी गराउनका निम्ति युवा समुदायले थप भूमिका निर्वाह गर्नु पर्ने बताए। साथै उँहाले सत्ता र शक्तिको आडमा युवाहरुसँग खेलाची नगर्न पनि चुनौती दिनु भयो।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पदका उमेदवार देव नारायण चौधरीले युवाहरुको जोश, नयाँपन र जागरलाई आफुहरुको अनुभव संग संयोजन गर्दै यो क्षेत्रको समग्र बिकासमा केन्द्रित हुने बताउनु भयो। साथै उहाले आजका सचेत युवा मतदाताहरु कुनै पनि प्रकारको डर, धाक, धम्कि र प्रलोभनमा नपर्ने बताउदै युवा समुदायलाई थप जिम्मेवार भएर निर्वाचन प्रचार प्रसारमा लाग्न निर्देशन दिनु भयो।
बोम्जनको संयोजकत्वमा युवा परिचालन कमिटि गठन
आज सम्पन्न भेलाले युवा नेता एवम् राष्ट्रिय युवा संघका मधेश प्रदेश कमिटि सदस्य सोमलाल बोम्जनको संयोजकत्वमा ५०१ सदस्यीय नेकपा एमाले बारा क्षेत्र नम्बर ४(क) युवा परिचालन कमिटि गठन गरेको छ। साथै उक्त कमिटिको सह संयोजकको जिम्मा कमरुल होदा अन्सारीलाई दिइएको छ। युवा परिचालन कमिटिले अब १८ वटै वडामा युवा लक्षित कार्यक्रम गर्ने संयोजक बोम्जनले बताए।