काठमाण्डौ ,
आज जेठ १९ गते नारायणहिटी राजदरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते भएको घटनामा राजपरिवारका अन्य सदस्य सहित राजा वीरेन्द्रको वंश नाश भएको थियो ।
तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो । घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते भएका थिए । हत्याकाण्डका विषयमा विभिन्न चरणमा छानविन भएका छन् । तात्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठन भएको छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेपनि घटनाको १८ वर्ष पूरा हुँदा समेत सर्वसाधारण भने दीपेन्द्रलाई हत्यारा मान्न तयार छैनन् ।
सरकारले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्दता जनाए पनि अहिलेसम्म कुनै कदम चालिएको छैन । राजदरवार हत्याकाण्ड पछि नेपालमा राजसंस्था अन्त्यको सुरुवात भएको र २०६२र६३ को जनआन्दोलनपछि सार्थक भएको बुझ्नेहरु पनि कम छैनन् । जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रुपमा लिने गरिन्छ ।