बारा ३ असोज
संविधान दिवसको अवसरमा निजगढ नगरपालिका ७ मा रहेको लोकप्रिय वचत तथा ऋण सहकारी संस्थाले शुक्रबार साविक निजगढ गाउ विकास समितिका पुर्व जनप्रतिनिधिहरुको सम्मान गरेको छ ।निजगढ ८ स्थित श्रीकृष्ण प्रणामी मन्दीरको सभा हलमा भएकोे कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष अम्बिका चौलागाईले निजगढ गाउँपन्चायतका तत्कालिन प्रधानपन्च एंव युवा तथा खेलकुद पुर्व मन्त्री पुरुषोत्तम पौडेललाई सम्मान गरेपछि कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पौडेलले अन्य पुर्व जनप्रतिनिधिहरुलाई प्रशंसा पत्र सहित दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो ।सहकारीले निजगढ नगरमा ०३८ सालयता निर्वाचित जनप्रतिनिधिहरुलाई एकैमन्चमा भेला गरेर सम्मान गरेको हो । कार्यक्रममा ०३८ सालमा निजगढ गाउपन्चायतमा निर्वाचित प्रधानपन्च सन्तबहादुर राउत तथा ०४३ र ०४९ मा निर्वाचित गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, उपाध्यक्ष हिराबहादुर तिमल्सिना एंव विभिन्न वडाका अध्यक्षहरुलाई सम्मान गरेको थियो ।कार्यक्रममा ०५४ सालमा निर्वाचित वडा सदस्यहरुलाई समेत पुर्व मन्त्री पौडेलले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै पौडेलले समाजको विकासको लागि अग्रजहरुको योगदानको कदर हुनु पर्ने बताउदै एकता र सदभाव कायम गरेर अघि बढनुपर्ने बताउनुभयो ।कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष एंव सामुदायिक रेडियो निजगढ संचालक समिति संयोजक सुदर्शन कोइरालाले हालका जनप्रतिनिधिहरुले पुर्व जनप्रतिनिधिहरुसंग पनि सल्लाहा सुझाव लिएर नगरको विकासमा काम गर्नु पर्ने बताउनुभयो ।
सहकारी संस्थाका अध्यक्ष चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व गाविस अध्यक्ष एकबहादुर श्रेष्ठ, संस्थाका उपाध्यक्ष केदार प्रसाद गौतम, संचालक समिति सदस्य सावित्री भारती, पुर्व वडा अध्यक्ष घनश्याम लम्साल र सहकारी संन्जाल निजगढका संयोजक भोलाप्रसाद गौतम, सुरत पुरी, यादवकुमार तिमल्सिनाले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिव लिलानाथ बन्जाराले गर्नुभएको थियो ।