काठमाडौ २१ असोज
आज बडादशैको मुख्य दिन विजयादशमी टीका लगाएर मनाइदैछ । आजको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ ।
आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन अर्थात आज दशैको मुख्य दिन हो । आजको दिनलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ ।
आज मान्यजनको हातबाट रातो टीका र जमरा लगाई आर्सिवाद थाप्ने प्रचलन रहेको छ । यसपाली दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउने उत्तम साइत १० बजेर ३५ मिनेटमा रहेको पञ्चांग निर्णायक समितिका समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
तर देवी विसर्जनपछि दिनभर नै टीका लगाउन मिल्ने र साइत हेर्न नपर्ने पनि समितिले जनाएको छ । विजया दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका तथा जमरा लगाउन पनि सकिने समितिको भनाइ छ ।
हिन्दुधर्मावलम्बीहरुको मुख्य चाड दशै अरु धर्म मान्नेहरुले पनि उत्तिकै सद्भावका साथ मनाउने गरेका छन् । विषेशगरी दसैंमा सेतो र रातो टीका प्रयोग गरिन्छ । आदिवासी जनजाति, गुरुङ, तामाङ, किरात, समुदायमा भने दसैंको टीका सेतो प्रयोग गरिन्छ ।