अख्तियारद्वारा प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयमा छापा

२५ जेष्ठ २०७७, आईतवार १९:३५ प्रकाशित

जनकपुर २५ जेठ :
कोरोना महामारी नियन्त्रण तथा रोकथामको मुख्य अभिभारा बोकेको प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयमा अख्तियारले अनियमितताको आशंकामा छापा मारेको छ ।
मन्त्रालयमा व्यापक अनियमितता र अपारदर्शी काम भएको भन्ने उजुरीपछि बर्दिवासस्थित आयोगले छापा मारेको हो । प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिंग, आरटीपीसीआर खरिद, स्वास्थ्य महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री लगायतमा अनियमितता भएको भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालयले मन्त्रालयमा अनियमितता र अपारदर्शीता परेकाले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत् खरिद गरिएको स्वास्थ्य सुरक्षा समाग्री खरिदमा बजार मूल्य भन्दा बढीमा खरिद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ ।
यता हालसम्म प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत गरेको खर्च विवरण सार्वजनिक गर्न मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले चाहिरहेका छैनन् । प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा समेत अपारदर्शी कामहरु हुदै आएका छन् ।
सामाजिक विकास मन्त्रालयका लेखा अधिकृत नविन दास सचिव घिमिरेको निर्देशनानुसार कुनै पनि किसिमका जानकारी दिन नमिल्ने बताउँछन् ।
‘सचिवज्यू नीति निर्माण लगायतका कार्यमा मुख्यमन्त्रीसँगको कार्य व्यस्तताले फुर्सद नरहेकोले कसैसँग कुराकानी, भेटघाट वा फोन सम्पर्क गर्न असमर्थ हुनुहुन्छ’, दासको भनाइ छ ।
मन्त्रालयका एक कर्मचारीका अनुसार सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरा समित साहले नै मन्त्रालय सम्हालेको र मन्त्रीका छोरा र सचिवको मिलोमतोमा विभिन्न अपारदर्शी लगायतका कार्यहरु हुदैँ आएको छ ।

२५ जेष्ठ २०७७, आईतवार १९:३५  मा प्रकाशित

Write your Comment