बीरगञ्ज ८ आषाढ :
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको पिसिआर परिक्षण आजबाट बन्द भएको छ । पिसिआर किट र आरएनए एक्सट्रेशन किटको अभावमा परिक्षण बन्द भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्याध्यले बताउनु भयो ।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाबाट प्राप्त १ हजार थान सेन सुल वायोटेक कम्पनिको पिसिआर किटबाट परिक्षणको नतिजा भरपर्दो र सहि नआएपछि परिक्षण स्थगित गर्नुपर्ने अवस्था आएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्याध्यले बताउनु भयो ।
नारायणी अस्पतालको प्रयोगशालामा हुदै आएको परिक्षण स्थगित गरिएको सम्बन्धमा मन्त्रालय, विभाग र सम्बन्धित निकायलाई जानकारी गराईएको समेत डा.उपाध्याध्यले बताउनु भयो । यसअघि पनि किट अभावका कारण प्रयोगशाला बन्द भएको थियो ।
यसै बिच प्रदेश नम्बर २ का रौतहट, सर्लाही,महोत्तरी,धनुषा,सिरहा र सप्तरी जिल्लामा गरी आज १ सय २८ जना थप कोरोना संक्रमित फेला परेका छन् ।
केन्द्रिय प्रयोगशाला काठमाण्डौ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र गजेन्द्र नारायण सिंह सरगरमाथा अस्पताल सप्तरीमा गरिएको पिसिआर परिक्षणको क्रममा आज मात्र प्रदेश नम्बर २ का ६ जिल्लामा १ सय २८ जना कोरोना संक्रमित फेला परेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताउनु भयो ।
परिक्षणको क्रममा रौतहटमा ३४, सर्लाहीमा ४७, सिरहामा २३, धनुषामा १०, महोत्तरीमा १ र सप्तरीमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आजै एकै साथ प्रदेश २ मा १ सय २८ जना संक्रमित थपिसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३४ पुगेको छ ।