स्थायी समिति बैठकमा पेस भएको अध्यक्षद्वयको प्रस्ताव सर्वसम्मत पारित

२६ भाद्र २०७७, शुक्रबार १९:०२ प्रकाशित

काठमाडौं २६ भाद्र :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक आज सम्पन्न भएको छ । पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गर्नुभएको प्रस्तावमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित १३ जना सदस्यहरुले सुझावहरु राख्नुभएको थियो ।
स्थायी समिति सदस्यहरुले दिनुभएको सुझावलाई समावेश गर्ने गरी आजको बैठकले उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । पारित प्रस्तावमा पार्टी एकताको ऐतिहासिक महत्वलाई आत्मसात गर्दै पार्टी एकताको रक्षा र अझ बढी सुदृढ गरेर अगाडि बढाउने सङ्कल्प गरिएको छ ।
बालुवाटारमा सम्पन्न उक्त बैठकले पार्टीलाई विधि र पद्दतिमा संस्थागत ढंगले सञ्चालन गर्ने काममा भएका कमिकमजोरीलाई सच्याउने र अबका दिनमा पार्टीलाई विधि र पद्दतिमा सञ्चालन गर्ने कुरामा दृढतापूर्वक अगाडि बढाउने निर्णय पनि गरेको छ ।
गतसाल भएका पार्टीका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने पनि बैठकले निर्णय गरेको छ । अध्यक्षद्वयको कार्यविभाजनका सन्दर्भमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा केन्द्रित भएर अगाडि बढ्ने र सरकारको सञ्चालन प्रभावकारी ढंगले अगाडि बढाएर सरकारलाई सफल पार्ने बैठकको निर्णय रहेको छ । त्यसैगरी अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकको अर्को निर्णयमा सरकार पार्टीको मार्ग निर्देशनमा सञ्चालन हुने, आधारभूत महत्वका नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिनुपर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यान दिएर सरकारले निर्णय लिनुपर्ने रहेको छ ।
राष्ट्रिय महत्वका निर्णयहरुमा दुई अध्यक्षहरुको परामर्श र सहमतिका साथै पार्टी सचिवालयको सुझावका आधारमा गर्ने बैठकको निर्णय रहेको छ ।
सरकारले प्रस्तुत गर्ने विधेयक तथा नीतिहरुका सैद्धान्तिक पक्षहरुका बारेमा पार्टीको केन्द्रीय समिति, स्थायी समिति वा सचिवालयमा छलफल गरेर अगाडि बढ्ने पनि बैठकको निर्णय रहेको छ । बैठकले पार्टीको महाधिवेशन २०७७ चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । त्यसको तयारीसँग सम्वन्धित कामहरुलाई अगाडि बढाउन यहि २०७७ साल कार्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टी केन्द्रीय समितिको बैठक बस्ने पनि बैठकले निर्णय लिएको छ ।
बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाउँदै पार्टी एकताको रक्षा गरेर विचारको बहस गर्दै पार्टीलाई वैचारिक रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । अध्यक्षले पार्टीलाई सांगठनीक रुपमा पनि अझ बढी मजबुत र रुपान्तरणका लागि आधार प्रदान गर्न आजको बैठक सफल भएको बताउनुभयो ।
उहाँले बैठकमा भएका विभिन्न प्रकारका उतारचढाव र छलफलबाट शिक्षा लिनुपर्ने बताउनुभयो । आगामि दिनमा पार्टी एकताको उद्देश्यलाई पुरा गर्नेगरी पार्टी संगठनलाई अझ बढी सुदृढ गर्दै बहसको प्रक्रियालाई उन्नत ढंगले अगाडि बढाएर महाधिवेशनलाई सफल बनाउन आव्हान गर्नुभयो ।

२६ भाद्र २०७७, शुक्रबार १९:०२  मा प्रकाशित

Write your Comment