बारा १४ पौष :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बारा र पर्सामा प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा प्रदर्शन गरिएको हो ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक, प्रतिगामी र गणतन्त्र विरोधी कदम चालेको ठहर गर्दै प्रदर्शन गरीएको हो । उनीहरुले पर्साको वीरगञ्ज र बाराको कलैयामा प्रदर्शन गरेका हुन् ।
नेकपा बाराको कार्यालय मदन आश्रित स्मृति भवन कलैयाबाट निस्केको जुलुस बजार परिक्रमापछि भरत चोकमा पुगेर विरोध सभामा परिणत भएको नेकपाका नेता मनोज पौडेलले जानकारी दिनुभयो।
जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठको सभापतित्व र देव नारायण चौधरीको सहजीकरणमा सम्पन्न विरोध सभामा केन्द्रिय सदस्य गोपाल ठाकुर,पूर्वमन्त्री पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य दिनेश राई, प्रदेश सभा सदस्य सुन्दर वि.क.,प्रदेश कमिटी सदस्यहरु छठु प्रसाद यादव,शिवचन्द्र कुश्वाहा,बिभा कार्की,राजन पौडेल,श्रीप्रसाद पासवान,तपेश्वर चौधरी,रबिराज दंगाल, मुकेश साह लगायतले मन्तव्य राखेका छन्।
विरोध सभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य ठाकुरले ओलीलाई निर्वाचन आयोगले बयल गाढा चुनाव चिन्ह दिने र त्यसैमा चढेर उहां अमेरिका जाने टिप्पणी गर्नु भयो ।
कार्यक्रममा बोल्दै पूर्व मन्त्री पौडेलले संविधान, लोकतन्त्र र संघीयतालाई तुहाउने खेलमा ओली लागेको बताउँदै संसद व्यूँताएरै छोड्ने दाबी गर्नु भयो । कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीका कार्यकर्ताले जोसुकै निरंकुश भएपनि त्यसको बिरोध गर्ने उल्लेख गर्दै निरंकुशता अपनाउने कसैलाई पनि नछोडिने स्पष्ट पार्नुभयो ।
त्यसैगरी वीरगञ्ज स्थित पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन नगर परिक्रमा पछि पुनः घण्टाघरमै आएर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा बोल्दै नेकपा प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनताको अधिकारको बलात्कार गरेको आरोप लगाउनु भयो ।
नेकपा नेतृ उर्मिला अर्यालले आन्दोलन मार्फत नै संसद पुनर्स्थापना गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहांले जनचाहना विपरीत गणतन्त्र र संघीयतालाई अप्ठेरोमा पार्ने काम नगर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँग आग्रह गर्नुभयो ।