संबैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बंधि मुद्दामा एमिकस क्युरीद्वारा राय दिन सुरु

४ फाल्गुन २०७७, मंगलवार १२:३६ प्रकाशित

काठमाडौं ४ फागुन :
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा एमिकस क्युरीले आफ्नो धारणा राख्न सुरु गरेको छ ।हिजो रिट निवेदकको जवाफ सकिएपछि आजबाट अदालतको सहयोगी भनेर चिनिने एमिकस क्युरीले आफ्नो राय राख्न सुरु गरेका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले एमीकस क्युरी गठन गर्ने फैसला गरेको थियो । जसमा नेपाल बारको तर्फबाट कानुन व्यवसायीहरू बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली र सर्वोच्च अदालत बारको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक एमीकस क्युरीमा चयन भएका थिए ।
नेपाल बार एसोसियसनको तर्फबाट एमीकस क्युरीमा रहेका कानुन व्यवसायी बद्रीबहादुर कार्कीले राय दिन सुरु गरेका छन् ।
प्रधानन्यायाधीश जबराले समयको ख्याल गरेर आफ्नो राय दिन अनुरोध गरेका छन् । समयको चाप रहेको भन्दै समय छोटो गरिदिन उनले आग्रह गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबार एमिकस क्युरीको पालो आएको हो । उनीहरूको सुनुवाइसमेत सकिएपछि सर्वोच्च अदालतले विघटनको मुद्दामा निर्णय सुनाउने मिति तोक्नेछ ।

४ फाल्गुन २०७७, मंगलवार १२:३६  मा प्रकाशित

Write your Comment