पोखराको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई संसदिय समितिको निर्देशन

१३ फाल्गुन २०७७, बिहीबार १६:५२ प्रकाशित

काठमाडौं १३ फागुन :
संसदीय समितिले पोखरा विमानस्थल निकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ।
संघीय संसद राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकन क्रममा देखिएका समस्याको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरेपछि विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्ने कार्य आगामी ६ महिनाभित्र सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो।
समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइन्। भनिन्, ‘आजको छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गरी प्रगति विवरण समितिमा पेस गर्न निर्देशन दिने निर्णय गरियो।’
समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ। सभापति भट्टले भनिन्, ‘नेपाल आयल निगमको डिपो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनाभित्र काम सम्पन्न गरी समितिलाई जानकारी दिने निर्णय भयो।’
यस्तै पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णयसमेत गरेको छ। समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षासमेत गरेको छ।
सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको पनि सभापति भट्टले बताइन्। उनले भनिन्, ‘आज उठान भएका र थाल्न शुरु भएका काम अगाडि बढिराखेको छ। त्यो छिटो भन्दा छिटो सम्पन्न होस। यी सबै विषयहरु समाधान हुने छ भन्ने समितिले अपेक्षा र निष्कर्ष गरेको छ।

१३ फाल्गुन २०७७, बिहीबार १६:५२  मा प्रकाशित

Write your Comment