जीतपुरसिमरा गोल्डकप: धनगढीलाई पराजित गर्दै हेटौंडा क्वाटरफाईनलमा प्रवेश

४ बैशाख २०७८, शनिबार ०८:१२ प्रकाशित

सिमरा रंगशालामा जारी जीतपुरसिमरा गोल्डकपमा शुक्रबार भएको खेलमा बिजय युथ क्लब , हेटौंडा विजयी भएको छ । सुदुरपक्षिम ११ स्पोर्ट्स क्लब, धनगढीलाई २-० ले पराजित गर्दे हेटौंडा विजयी भएको हो ।
जीतपुरसिमरा गोल्डकप ( तत्कालीन सिमरा गोल्डकप ) को सातौं संस्करणको बिजेता हेटौंडाको जीतका लागि खेलको १६औं मिनेटमा जर्सी नम्बर १७ का नमराज गुरुङले धनगढीको फितलो रक्षापंक्तिको फाइदा उठाउदै हेटौंडालाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ६६औं मिनेटमा डिबक्स नजिकबाट पाएको फ्रीकिकलाई हेटौंडाका जर्सी नम्बर ६ का बिकास लामाले गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा केही आक्रामक देखिएको सुदुरपक्षिम ११ स्पोर्ट्स क्लब, धनगढीले गोल भने गर्न सकेन । दोस्रो हाफको सुरुवाती मिनेटमा धनगढीले मिड फिल्डबाट प्रहार गरेको बल क्रसबारको केही माथीबाट बाहिरिएको थियो।
चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ । यसका अतिरिक्त प्रतियोगितामा प्रत्येक दिन २ जना भाग्यशाली दर्शकले मोबाइल फोन प्राप्त गर्नेछन् , त्यस्तै खल्ती एप्सले प्रत्येक दिन एकजना एक्साइटेड दर्शकलाई २००० प्रदान गर्ने छ।
प्रतियोगिता अन्तर्गत शनिबार आयोजक नव जन जागृति युवा क्लब, सिमरा र हिमालयन शेर्पा क्लब, काठमाडौ बिच खेल हुनेछ । आयोजक नव जन जागृति युवा क्लबले प्री क्वाटरफाइनलमा बागमती गाउपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने हिमालयन शेर्पाले सिधै क्वाटरफाइनल खेल्न लागेको हो। हिमालयन शेर्पा प्रतियोगिताको दोस्रो संस्करणको को बिजेता हो भने आयोजक पाचौं संस्करणको को बिजेता हो।। खेल बेलुका ५ बजे सिमरा रंगशाला , सिमरामा हुनेछ । खेलको टिकट दर रु. ५० कायम गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको टिकेटिङ पार्टनर खल्ती डिजिटल वालेटबाट टिकट काट्दा दर्शकले २०% क्यासब्याक पनि पाउनेछन् ।

४ बैशाख २०७८, शनिबार ०८:१२  मा प्रकाशित

Write your Comment