अफ्रिकन रुट्स एसोसियसन,क्यामरुन अन्तिम चारमा

६ बैशाख २०७८, सोमबार ०७:३९ प्रकाशित

अनिश अधिकारी

सिमरा ६ बैशाख :
सिमरा रंगशालामा जारी बिश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपमा आइतबार भएको खेलमा अफ्रिकन रुट्स एसोसियसन, क्यामरुन विजयी भएको छ । त्रिभुवन आर्मी फुटबल क्लब , काठमाडौलाई २-१ गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट्स एसोसियसन, क्यामरुन प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।
अफ्रिकन रुट्स को जितमा नाजिमी नायक साबित भए, उनले २ गोल गर्दै टिमलाई बिजयी गराए भने यता आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गरे । खेलको अन्तिम समयतिर अफ्रिकन रुट्स सम्हालिन नसक्दा जितका लागि अतिरिक्त समयसम्म खेल्नु पर्यो ।
सुरुवातदेखि नै आर्मीलाइ दबाबमा राखेको अफ्रिकन रुट्सले पहिलो हाफ गोलरहित बराबरीमा सकायो । पहिलो हाफमा दुवै टिमले गोलका केहि अवसर बनाए पनि बलले जाली चुम्न सकेन ।

खेलको ६१ औ मिनेटमा नाजिमीले डीबक्स भित्रबाट पाएको बललाई गोलमा परिणत गरे । सिमराका घरेलु दर्शकको समर्थन पाएको आर्मी एक गोलले पछि परे पछि थप दबाबमा परेको थियो ।
आर्मीको फितलो रक्षापंक्तिको फाइदा उठाउदै नाजिमीले डीबक्स भित्रबाट गोल गरेका हुन् । आर्मीको फिनिसिंग पक्ष कमजोर बन्दा अफ्रिकन रुट्स खेलमा हाबी देखियो । हार नजिक पुगेको आर्मीले खेलको ८९ औ मिनेटमा पेनाल्टी प्राप्त गर्यो । ए फेब्रिकले डीबक्स भित्र हात ले बल रोके पछि पेनाल्टी पाएको आर्मीका लागि जर्ज प्रिन्स कार्कीले गोल गर्दै १-१ को बराबारीमा पुराएका थिए । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिए पछि इन्जुरी समयको ४ मिनेटमा मा पनि कुनै टिमले अग्रता बढाउन नसक्दा अतिरिक्त ३० मिनेट समय थपिएको थियो । अतिरिक्त समयको ५ औ मिनेटमा नाजिमीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाइ २-१ को अग्रता दिलाएका थिए । स्मेलको कर्नरलाइ नाजिमीले हेडमार्फत गोल गर्दै आर्मीलाइ निराश बनाएका थिए । अतिरिक्त समयको अन्तिमतिर निकै आक्रामक देखिए पनि गोल गर्न नसक्दा साबिक उपबिजेता आर्मी प्रतियोगिताबाट नै बाहिरिएको छ । जित संगै भर्खरै सम्पन्न आहा रारा गोल्डकपको उपबिजेता समेत रहेको अफ्रिकन रुट्स विश्वकर्मा सिमेन्ट ११ औ जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
बैशाख ८ गते हुने पहिलो सेमीफाइनलमा अफ्रिकन रुट्स एसोसियसन , क्यामरुन र आयोजक नव जन जागृति युवा क्लब सिमरा भिड्नेछन् ।
खेल को म्यान अफ दि म्याच नाजिमी घोषित भए उनले पाच हजार नगद र ट्रफि प्राप्त गरे ।
चैत्र ३१ बाट सुरु भएको गोल्डकप आगामि बैशाख ११ गते सम्म संचालन हुनेछ। १२ वटा टिमको सहभागिता रहेको यो प्रतियोगिताका प्रत्येक खेल फ्लड लाइटमा खेलाइनेछ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार नगद पुरस्कार, शिल्ड, कप, प्रमाणपत्र पाउने छन् ।प्रतियोगितामा विभिन्न विधाका उत्कृष्टले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडिले ५ हजार रुपैया प्राप्त गर्ने छन । यस्तै सर्वोत्कृष्ट खेलाडिले मोटरसाईकल पाउने आयोजकले जनाएको छ ।
आज APF फुटबल क्लब Vs बाग्मति युवा क्लब , सर्लाही
प्रतियोगिता अन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनलमा APF फुटबल क्लबले बाग्मति युवा क्लब , सर्लाही को सामना गर्नेछ । बाग्मति युवा क्लबले प्री क्वाटरफाइनलमा, भरतपुर फुटबल क्लबलाई सडनडेथमा पराजित पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो भने APF फुटबल क्लब सिधै क्वाटरफाइनल खेल्न लागेको हो। APF फुटबल क्लब भर्खरै सम्पन्न बिराट गोल्डकपको बिजेता समेत हो । खेल बेलुका ५ बजेबाट सिमरा रंगशाला , सिमरामा हुनेछ । खेलको टिकट दर रु ५० कायम गरिएको आयोजकले जनाएको छ ।

६ बैशाख २०७८, सोमबार ०७:३९  मा प्रकाशित

Write your Comment